झापामा नेपालकै अग्लो भ्यूटावर धमाधम बन्दै, जग्गाको भाउ तेब्बरसम्म बढ्यो

झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ ।

 

वाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्यका साथ सघन शहरी तथा भवन निर्माण आयोजनाले दमक नगरपालिका वडा नं ३ दापगाँछीमा स्थानीयवासीबाट निःशुल्क प्राप्त ५ बिगाहा जग्गामा भ्यूटावर निर्माण गरिरहेको छ ।

 

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ ।भ्याटसहित भ्यूटावरको लागत १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँ रहेको छ ।

 

चिनियाँ कम्पनी जेडसीजीआईइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले भ्याटसहित १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा भ्यूटावर निर्माणको ठेक्का लिएका छन् ।

 

सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर भुपेन्द्रकुमार यादवका अनुसार २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्का सम्झौता विसं २०७६ असार २७ गते भएको थियो ।

 

यस्तो बन्नेछ स्तम्भ

 

अठार तलाको भ्यूटावर एक सय मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारीले बताए । बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ ।

 

दमक चोकबाट ६ किलोमिटर पश्चिमोत्तर दापगाँछी भन्ने गाउँमा यसको निर्माण भइरहेको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ ।

 

टावरको सबैभन्दा तल्लो तलामा सावरी साधन पार्किङस्थल हुनेछ । टावर वर्गाकारमा बन्नेछ । टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्य चौकी बनाइने प्रोजेक्ट मेनेजर बिडारीले जानकारी दिए । पश्चिमतिर ‘ओपन एयर थिएटर’ र उत्तरतिर फाउन्टेन पार्क, बाल उद्यान आदि लगायतका संरचना बनाइने भएको छ ।

 

राष्ट्रियसभाका सांसद् देबेन्द्र दाहालले भ्यूटावरको निर्माणले दमक मात्र नभएर झापाको पर्यटकीय विकासमा नयाँ उचाई थप्ने बताए । ‘कसै कसैले भ्यूटावरको साटो हस्पिटल बनाएको भए हुन्थ्यो, रतुवाको तटबन्ध गरेको भए हुन्थ्यो जस्ता तर्क पनि गरेको सुनियो,’ झापाबाट प्रतिनिधित्व गर्ने सांसद् दाहालले भने, ‘पर्यटकीय विकासका लागि अभूतपूर्व आधार खडा गर्ने कार्यलाई हलुका रुपमा लिइनु हुँदैन । स्वास्थ्य, शिक्षा, नदी नियन्त्रणका आयोजनाहरु समेत सञ्चालन भइरहेकै छन् ।’

 

उनले २८ करोडको लागतमा दमकमा आधुनिक हस्पिटल निर्माण भइरहेको र सम्बन्धित निकायहरुबाट तटबन्ध र अरु विकास निर्माणका कामहरु भइरहेको जनाउँदै भ्यूटावरको निर्माणले जीवनस्तरमा सकारात्मक परिवर्तन आउने आशाले स्थानीयबासी उत्साहित बनेको बताए ।

 

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भ्यूटावरले वर्षेनी पचासौँ हजार पर्यटक आकर्षित गर्ने सम्भावना व्यक्त गरे । ‘‘भित्रका कर्मचारी सीमित सङ्ख्यामा होलान्, तर बाहिर धेरै सङ्ख्यामा रोजगारीको अवसर सिर्जना हुने निश्चित छ’ नगरप्रमुख ओलीले भने, ‘‘मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन नै मुख्य आधार भएको हुँदा यस क्षेत्रका बासिन्दाको आर्थिकस्तरमा भ्यूटावरको निर्माणपछि कायापलट हुने अपेक्षा छ ।’

 

यस टावरबाट मधेशको फराकिलो फाँट र धनकुटा, इलाम र पाँचथरका पहाडी रमणीय भूगोलको दृश्यावलोकन गर्न सकिने उनले बताए । भ्यूटावर दृश्यावलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले समेत महत्वपूर्ण हुने ‘सपिङ कम्प्लेक्स’को अवधारणबाट डिजाइन गरिएको छ । टावरका तलाहरुमा रेस्टुरेन्ट, होटल, बैङ्क, बुटिकलगायतका व्यावसायिक स्थलहरु रहने भएका छन् ।

 

तोकिएको समयमै बन्ने

 

निर्माणको ठेक्का लिएको कम्पनीले सम्झौतामा तोकिएको ३० महिनाको अवधिमै कार्यसम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

मङ्सिरको पहिलो साता भ्यूटावर निर्माणको अनुगमनमा सहरी विकास मन्त्री कृृष्णगोपाल श्रेष्ठसहितको उच्चस्तरीय टोली दमक आएको थियो । जसमा प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलगायतको उपस्थिति थियो ।

 

मन्त्री श्रेष्ठले निर्माणस्थलको निरीक्षण गरिसकेपछि सम्झौतामा तोकिएको अवधिभित्रै भ्यूटावरको निर्माण सक्न निर्देशन दिएका थिए । राष्ट्रिय गौरवको आयोजना भएको हुँदा तोकिएकै अवधिमा गुणस्तरीय रुपमा कार्य सम्पन्न गर्न मन्त्री श्रेष्ठले सघन शहरी तथा भवन निर्माण आयोजना र ठेक्का लिने निर्माण कम्पनीलाई निर्देशन दिए ।

 

सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माण कार्यको नियमित रेखदेखका लागि इन्जिनियर यादवलाई कार्यस्थलमा खटाएको छ । इन्जिनियर यादवले भ्यूटावरको निर्माण कार्य कोभिड १९ को विश्वव्यापी महामारीले प्रभावित गरे तापनि प्रगति सन्तोषजनक रहेको बताए। उनले बेसमेन्ट ढलानको काम यसै साताभित्र सम्पन्न हुने र त्यसपछि धमाधम तलाहरुको काम अघि बढ्ने जानकारी दिए।

 

भ्यूटावर निर्माणस्थलमा हाल डेढ सय कामदार रातदिन काम गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीको गृहनगरमा रहेको राष्ट्रिय गौरवको आयोजना भएका कारण समेत आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने दवाव निर्माणको ठेक्का लिने पक्षलाई परेको छ ।

 

टावरको बेसमेन्ट बलियो बनाउन ८१ ओटा ठूला पिलर ठड्याइएका छन् भने पुसदेखि हरेक महिना दुईओटा तलाको निर्माण कार्य पूरा गर्ने आयोजनाको लक्ष्य रहेको प्रोजेक्ट मेनेजर बिडारीले बताए ।

 

प्रधानमन्त्री ओलीले नै दमकबासीले जग्गा जुटाउन सके लगानीकर्ता खोज्न आफूले सहयोग गर्ने स्थानीय पुजन दाहालको भनाइ छ । दमक शहरको बीच भागतिर महँगा जग्गा कसैले दिन नचाहेपछि गाउँतिर आउँदा प्रधानमन्त्री ओलीले जग्गा खोज्न प्रेरित गरेको बताए ।

 

दमक नगरपालिका वडा नं ३ दापगाँछी विकासको दृष्टिमा साह्रै पछाडि परेको र आदिवासी धिमाल वस्तीले भरिएको छ । यहाँका बासिन्दा २७ जनाले १० धुरदेखि छ कठ्ठासम्म निजी जग्गा निःशुल्क प्रदान गरेर एकमुष्ठ ५ बिगाहा पुर्याएपछि भ्यूटावर त्यही बन्ने निश्चित भएको थियो ।

 

जग्गाको भाउ तेब्बर  बढ्यो 

 

भ्यूटावर निर्माण शुरु भए लगत्तै दापगाँछी गाउँमा जग्गाको भाउ बढेर तेब्बर भएको स्थानीयबासी बताउँछन् । निर्माणस्थल वरपर भविष्यमा व्यापार व्यवसाय फस्टाउने भएकाले अहिले नै जग्गा ओगट्न चाहने बढेकाले जग्गाको भाउमा तेजी आएको हो ।

 

६ वर्ष अघि दुइतले पक्की घरसहितको ६ कठ्ठा जग्गा २६ लाख रुपैयाँमा किनेको बताउने दमक-३ की गीता भण्डारीले अहिले एक कठ्ठा जग्गा नै ६० लाखमा किनबेच भएको बताइन् ।

 

‘भ्यूटावर बनेपछि यहाँ पर्यटकको ओइरो लाग्ने र होटल, रेस्टुरेन्टलगायतका व्यवसाय फस्टाउने हामी सबैले अपेक्षा गरेका छौँ,’ भ्यूटावरको सय मिटर नजिकै घर भएकी भण्डारी भन्छिन्, ‘बाहिरतिर भ्यूटावर बन्न लागेकोमा विरोध भएको सुन्दा दुःख लाग्छ । उहाँहरु यहाँ आएर हेर्दा हुन्छ, भ्यूटावरभन्दा अघि यस क्षेत्रमा कुनै विकास नै आएको थिएन ।’

 

टावर वरिपरि सय परिवार धिमाल समुदायको बसोबास भएको र भ्यूटावर बनेपछि त्यहाँ घरबास (होमस्टे) व्यवसाय समेत विस्तार हुने स्थानीयवासीको आशा छ । भ्यूटावरले यस क्षेत्रका बासिन्दामा खुशीयाली ल्याएको भण्डारीले बताए । रासस

सेयर बजारमा उछाल कायमै, लगानीकर्ता बैंकबाट बीमा र हाइड्रोमा सिफ्ट Read Previous

सेयर बजारमा उछाल कायमै, लगानीकर्ता बैंकबाट बीमा र हाइड्रोमा सिफ्ट

देशभरका ५७५ सडकको ठेक्का अन्योलमा, ठूला आयोजनालाई बजेट जुटाउनै मुस्किल Read Next

देशभरका ५७५ सडकको ठेक्का अन्योलमा, ठूला आयोजनालाई बजेट जुटाउनै मुस्किल