बुल रनको ६ महिनामै सेयर मूल्य झण्डै तेब्बर, कुन क्षेत्रका कम्पनीको भाउ कति बढ्यो

काठमाडौं । करिब ४ वर्ष लामो बियरिस ट्रेण्डमा रहेको नेपाली सेयर बजार पछिल्लो ६ महिनादेखि बुलिस ट्रेण्डमा प्रवेश गरेको बताउन थालेका छन्, प्राविधिक विश्लेषकहरु । उनीहरुको यो दाबीलाई दैनिक करोबार रकम र सेयर लगानीकर्ताको उत्साहले पनि मलजल गरेकै छ ।

 

हाल दैनिक रुपमा कारोबार रकमका नयाँ रेकर्डहरु कायम हुन थालेका छन् । अघिल्लो बुल रनमा दैनिक २ अर्ब हाराहारी कारोबार हुने गरेको अहिले । अहिले त्यो बढेर दैनिक १० अर्ब पुग्न थालिसकेको छ । तर, यो बुल रन शुरु हुनु भन्दा अघि अर्थात केही महिना अघिसम्म दैनिक २५ करोड रुपैयाँको कारोबार हुन समेत गाह्रो थियो ।

 

असारयता सबैभन्दा बढ्ने कम्पनीहरुमा जलविद्युत् उप-सूचकका कम्पनीहरु रहेका छन् । यो उप-सूचकको आँखुखोला जलविद्युतको सेयर मूल्य सबैभन्दा बढी २२० प्रतिशतले बढेको छ । यसैगरी रैराङ हाइड्रोको मूल्य १९० प्रतिशत भन्दा धेरैले बढेको छ । अरुण भ्यालीको सेयर पनि १६८ प्रतिशतले बढेको छ ।

 

प्राविधिक विश्लेषहरुका अनुसार नेपाली सेयर बजारमा एतिहासिक रुपमै ३–४ वर्षको बियरिस ट्रेण्ड र त्यसपछि अर्को ३–४ वर्षको बुलिस ट्रेण्ड चल्ने गरेको छ ।

 

२०७६ मंसिरमा नेप्से परिसूचक १११२ थियो । त्यो विन्दु नै बियरिस ट्रेण्डको अन्त्य रहेको विश्लेषकहरु बताउँछन् । त्यसयता २०७६ फागुनसम्म आइपुग्दा नेप्से परिसूचकले १५९१ सम्मको यात्रा तय गरेको थियो ।

 

त्यसपछि कोरोना भाइरसका कारण सेयर बजार पनि सुस्तायो । चैतको मध्यदेखि त सरकारले देशव्यापी रुपमा लकडाउनकै घोषणा गर्यो । लकडाउनको समयमा सेयर बजार पनि बन्द रह्यो । लकडाउन खुलेपछि सेयर बजार फेरि आक्रामक ढंगले ओरालो लाग्यो । असारको मध्यतिर आइपुग्दा लकडाउन अघि १६०० सम्मको यात्रा गरेको सेयर बजार फेरि ११८८ मा आइपुग्यो ।

 

त्यसपछि भने बजारले पछाडि फर्केर हेरेको छैन । कोरोना महामारीले अल्मल्याउको बुल रन फेरि असारको मध्ययता आफ्नो लयमा फर्किएको प्राविधिक विश्लेषकहरु बताउँछन् ।

 

उनीहरुको यो दाबीलाई थप पुष्टि गर्दै त्यसयता विभिन्न उप–सूचकका कम्पनीहरुको सेयर मूल्यमा ठूलो बढोत्तरी भएको छ ।

 

असारयता सबैभन्दा बढ्ने कम्पनीहरुमा जलविद्युत् उप–सूचकका कम्पनीहरु रहेका छन् । यो उप–सूचकको आँखु खोला जलविद्युतको सेयर मूल्य सबैभन्दा बढी २२० प्रतिशतले बढेको छ । यसैगरी रैराङ हाइड्रोको मूल्य १९० प्रतिशत भन्दा धेरैले बढेको छ । अरुण भ्यालीको सेयर पनि १६८ प्रतिशतले बढेको छ ।

 

यो समयमा जलविद्युत् कम्पनी पछि सबैभन्दा बढी मूल्य बढ्नेमा उत्पादन समूहका कम्पनीहरु रहेका छन् । असार यता हिमालयन डिस्टीलरी, शिवम् सिमेन्ट र बोटर्लस नेपालको सेयर मूल्य क्रमश १६९, १२२ र ५१ प्रतिशतले बढेको छ ।

 

उल्लेखित समयमा निर्जीवन बीमा कम्पनीका सेयर मूल्य पनि अन्य उप–सूचकका तुलनामा धेरै बढेका छन् । यो समयमा नेको, शिखर, हिमालयन जलरल र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १०० प्रतिशत भन्दा बढीले बढेको छ ।

 

‘अन्य’ उप–सूचकका कम्पनीहरु पुनर्बीमा , जलविद्युत् विकास कम्पनी, नागरिक लगानी कोष र नेपाल टेलकम कम्पनीका सेयर मूल्य पनि क्रमशः २१५, १३४, १२८ र ८२ प्रतिशतले बढेको छ ।

 

यो बुल रनमा अहिलेसम्म माथि उल्लेखित उप–सूचकका तुलनामा माइक्रोफाइनान्स कम्पनीका सेयर मूल्य भने त्यति बढिसकेका छैनन् । यो उप–सूचकका अन्तर्गत सबैभन्दा बढी नाडेप लघुवित्तको सेयर मूल्य ८३ प्रतिशतले बढेको छ । त्यसपछि सूर्योदय र मिर्मिरे लघुवित्तको पनि सेयर मूल्य क्रमशः ७८ र ७० प्रतिशतले बढेको छ ।

 

वित्त कम्पनीहरुको कुरा गर्दा यो समयमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा नेपाल फाइनान्स, गुर्खाज र गुहेश्वरी मर्चेन्ट फाइनान्स रहेका छन् । यी कम्पनीको सेयर मूल्य क्रमशः ११८, ८८ र ७९ प्रतिशतले बढेको छ ।

 

यसैगरी विकास बैंक अन्तर्गत कर्पोरेट विकास बैंकको मूल्य सबैभन्दा बढी ९२ प्रतिशतले बढेको छ । कामना सेवा र सप्तकोशी विकास बैंकको पनि क्रमशः ६० र ५२ प्रशिततले सेयर मूल्यमा बढोत्तरी भएको छ ।

 

लामोसमयसम्म स्थिर रहेको र हिजो (आइतबार) बाट मात्र केही चलमलाउन थालेको क्षेत्र बैंकिङका केही कम्पनीले भने अन्य बैंकको तुलनामा सेयर बजारमा राम्रो प्रर्दशन गरेका छन् । नबिल बैंक, प्राइम बैंक, नेपाल बैंक, प्रभु बैंक र कुमारी बैंकको सेयर मूल्यमा यो अवधिमा करिब ७० प्रतिशतको बढोत्तरी भएको छ ।

 

चालू बुल रनमा तुलनात्मक रुपमा सबैभन्दा नचलेको क्षेत्र भने होटल क्षेत्र रहेको छ । यो क्षेत्र कोरोना महामारीको कारणले सबैभन्दा बढी प्रभावित क्षेत्र हो । तर पनि यो क्षेत्रका कम्पनीहरुको सेयर मूल्य बढ्दै नबढेको भने होइन । सेयर लगानी भनेको वर्तमानभन्दा पनि भविष्य प्रति आशावादी रहेर गरिने लगानी हो भनेर यसले पुष्टि पनि गरेको छ । होटल अन्र्तगत तारागाउँ, ओरियन्टल्स र सोल्टी होटलको सेयर पनि यस अवधिमा ६९, ६३ र २८ प्रतिशतले बढेको छ ।

सेयर बजारमा प्रविधिको फड्को, ८८ प्रतिशले गर्छन् अनलाइबाटै सेयर किनबेच Read Previous

सेयर बजारमा प्रविधिको फड्को, ८८ प्रतिशले गर्छन् अनलाइबाटै सेयर किनबेच

सेयर बजारमा उछाल कायमै, लगानीकर्ता बैंकबाट बीमा र हाइड्रोमा सिफ्ट Read Next

सेयर बजारमा उछाल कायमै, लगानीकर्ता बैंकबाट बीमा र हाइड्रोमा सिफ्ट