बैंकिङ क्षेत्रले लिड गर्दा सेयर बजारले बनायो रेकर्डै रेकर्ड, यी कम्पनीका लगानीकर्ता भए मालामाल
चाणक्य पोष्ट
प्रकाशित : 3:30 pm, आइतबार, मंसिर १४, २०७७

काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्डै रेकर्ड बनाएको छ ।  गतहप्ता मात्र साढे ४ वर्ष पुरानो रेकर्ड तोडेको नेप्सले आइतबार फेरि इतिहासकै सर्वाधिक उच्च १९६८ विन्दुको रेकर्ड बनाएको हो ।यो नेपाली सेयर बजारको अहिलेसम्मकै उच्च विन्दु हो ।

 

सेयर बजारको दुईतिहाइ भन्दा बढी हिस्सा ओगटेको बैंकिङ क्षेत्रमा उछाल आएसँगै बजार उच्च अंकले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

 

यस्तै, आज सेयर बजारले कारोबार रकममा पनि कीर्तिमान बनाएको छ । एकैदिनमा इतिहासकै सर्वाधिक सवा ९ अर्बको कारोबार हुँदै नयाँ रेकर्ड बनाएको हो । यसअघि गतहप्ता साढे ७ करोडको कारोबार हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको थियो ।कारोबार रकमलाई आधारमान्दा औसतमा प्रतिमिनेट ३ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको देखिन्छ ।

 

यस्तै, आज बजारले कारोबार संख्यामा पनि नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन इतिहासकै धेरै २ करोड ६० लाख कित्ता सेयर कारोबार बनाएको छ ।

 

यस्तै, एकैदिन ८० हजार २७१ वटा कारोबार भएको छ । कारोबार संख्याका आधारमा यो नै अहिलेसम्मकै धेरै हो ।

 

बैकिङ क्षेत्रले बजारलाई लिड गर्न थालेसँगै अब बजारले थप नयाँ उचाइ चुम्ने लगानीकर्ताको भनाइ छ । यसअघि अन्य क्षेत्रका कम्पनीको मात्र सेयर भाउ बढे पनि प्रमुख हिस्सेदार बैंकिङ क्षेत्रको मूल्य नबढ्दा बजारले वास्तविक गति लिन सकेको थिएन् ।

 

पछिल्ले समय बैंकिङ प्रणलीमा अधिक तरलता कायम भई ब्याजदर सस्तो भएपछि लगानीकर्ता उत्साहित हुँदा बजारले नयाँ रेकर्ड बनाउने बाटोमा गएको जनाकारहरु बताउँछन् । साथै, पछिल्लो समय सेयर बजार प्रविधिमैत्री हुनु, नयाँ लगानीकर्ताको प्रवेश, कोरोनाका कारण अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्नु लगायत कारले बजारलाई नयाँ उचाइमा पुर्याएको उनीहरुको भनाइ छ ।

 

सेयर बजार मापक सूचक नेप्से ७५.०२ अंकले बढेर १९६८.२७ विन्दुमा पुगेको छ । यसदिन २०० कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ वटा समूहको परिसूचक ओरालो लागेका छन् । बैंकिङ समूहमा वृद्धि आएपछि समग्र बजार बढेको हो । आज यस समूहको परिसूचक ११२.१९ अंकले बढेको छ भने जीवन बीमा समूहको सबैभन्दा धेरै २४५.७५ अंकले बढेको छ ।

 

बैंकिङ समूहमा उछाल आए पनि आज लगानीस्कर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै ५१ करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा कुमारी बैंक र नबिल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज कारोबार भएका कुल २०० कम्पनी मध्ये ११९ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । १८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

तीव्र उछाल आएको बजारमा आज डेढ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने अधिकांश कम्पनीहरुहरु वाणिज्य बैंक र विकास बैंक समूहका रहेका छन् ।

 

सेञ्चुरी कमर्शियल, नेपाल इन्भेष्टमेन्ट, सनराइज, माछापुच्छ्रे, नेपाल बंगलादेश, मेगा, प्रभु, कुमारी, ग्लोबल आइएमई, लक्ष्मी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

 

यस्तै, मुक्तिनाथ विकास बैंक, ग्रान्डी विकास बैंक, सिटिजन्स, हिमालयन, सिभिल बैंकको सेयर मूलय पनि करिब १० प्रतिशतले नै बढेको छ । आज कारोबार भएक अधिकांश बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज विशाल बजार कम्पनीकोको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिश गुमाएका छन् ।

Advertisement Section