कृषकलाई आश देखाउँदै बित्यो ४ महिना, बंगलादेशबाट मल ल्याउने विषय अझै अन्योलमा

काठमाडौं । सरकारले बंगलादेशबाट मल ल्याउने भनेको करिब ४ महिना बित्न लागे पनि अझै अन्योलमै रहेको छ ।

 

सरकारले शुरूमा बंगलादेशबाट पैँचो मल ल्याउन जनाएको थियो । बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गरेर ल्याउने भने पनि अझै टुंगो लाग्न सकेको छैन ।

 

सरकार आफै खरिक प्रक्रियामा अल्मलिँदा अझै मल आउने टुंगो नभएको हो । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार जीटुजीमा ल्याउने कि नल्याउने भन्ने विषयमा छलफल भइरहेको छ । उनले विगतमा धान र कोदोका लागि रसायनिक मल ल्याउनु पर्ने भए पनि अब सबै उठिसकेकाले हाल्नु नपर्ने हुँदा ल्याउने कि न ल्याउने टुंगो नलागेको बताए ।

 

सरकारले शुरूमा बंगलादेशबाट पैँचो मल ल्याउन जनाएको थियो । बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गरेर ल्याउने भने पनि अझै टुंगो लाग्न सकेको छैन ।

 

‘जेको लागि मल ल्याउनु पर्ने थियो त्यो समय सकिसक्यो अब ल्याए पनि हुन्छ न ल्याए पनि हुन्छ, बाँकी हाम्रो सधैंको झै मल आयात भइरहेको छ, बंगलादेशबाट मल ल्याउनै पर्छ भन्ने छैन,’ केसीले चाणक्य पोष्टसँग भने ।

 

५० हजार मेट्रिक टन युरिया मल १२ करोड भन्दा कम मूल्यमा आयात हुने अनुमान गरिएको थियो । सधैंको टेन्डर भन्दा सस्तोमा मल आयात हुने भए ल्याउने नत्र नल्याउन विषयमा छलफल भइरहेको उनले बताए ।

 

यसअघि सापटी ल्याउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । विगतमा कृषि सामग्रीले ग्लोबल टेन्डरबाट सो परिमाणको मल खरिद गर्ने योजना रहेको थियो । ठेकेदारलाई कलकत्ता बन्दरगाहसम्म ल्याउने जिम्मा दिइएको थियो ।

 

कृषि सामग्री कम्पनीले चालू आर्थिक वर्षका लागि १ लाख १० हजार मेट्रिकटन यूरीया मल आयातका लागि टेन्डर भइसकेको छ । ९५ हजार मेट्रिकटन डीएपी मल आयातका लागि टेन्डर भएको छ भने १० हजार मेट्रिक टन पोटास मलका लागि पनि टेन्डर भइसकेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

 

बंगलादेशबाट पैँचोमा मल ल्याउन कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले भदौदेखि पहल गरे पनि यसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृति लिएर बंगलादेशसँग सरकारीस्तरबाटै पैँचोमा मल ल्याउन पहल गरेका थिए ।

 

बंगलादेशले वार्षिक २५ लाख टन युरिया खपत गर्ने र त्यसमध्ये १५ लाख टन आफैँ उत्पादन गर्ने भएकाले नेपाललाई ५० हजार टन युरिया दिन तयार भएको हो ।

 

धान रोप्ने समय जेठ–असारमा युरिया मलको हाहाकार भएपछि कृषिमन्त्री घनश्याम भुसालले छोटो प्रक्रियामा मल आयात गर्न बंगलादेश उत्तम विकल्प भएको निष्कर्ष निकालेका थिए ।

 

प्रधानमन्त्री ओलीले १६ भदौमा बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गरेका थिए । सो संवादमा ५० हजार टन युरिया तत्कालका लागि सापटी दिन प्रधानमन्त्री ओलीले गरेको आग्रह बंगलादेशकी प्रधानमन्त्री हसिनाले स्वीकार गरेकी थिइन् । त्यसपछि दुवै देशका कृषि मन्त्रालयका अधिकारीहरू मल आयातको मोडालिटी तयार गर्न जुटेका थिए ।

 

नेपालले ५० हजार टन मल चितगाउँ पोर्टबाट उठाउने र आठ महिनाभित्र पैँचोमा तिर्ने प्रारम्भिक छलफल भएको थियो । सोही छलफलका आधारमा १ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट ५० हजार टन युरिया सापटी ल्याउन सैद्धान्तिक स्वीकृति दिएको थियो ।

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’ Read Previous

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

निजगढ विमानस्थलको लगानी मोडालिटी बनाइँदै Read Next

निजगढ विमानस्थलको लगानी मोडालिटी बनाइँदै