काठमाडौं । कोरोनाका कारण पछिल्लो ६ महिनादेखि मुलुकमा स्वदेशी लगानीमा नयाँ लगानीका उद्योग, कलकारखाना खुल्ने क्रम ठप्पप्राय भइरहेका बेला वैदेशिक लगानी प्रस्ताव आउने क्रम भने रोकिएको छैन ।
कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका बेला विदेशी लगानीकर्ताको नेपालमा लगानी गर्न उत्साहित देखिएका छन् । नेपालमा औद्योगिक विकासको शुरुआती चरणमा रहेकाले भविष्यमा राम्रो प्रतिफल लिन सकिने देखेर विदेशी लगानीकर्ताहरू कोरोनाका बीच लगानी गर्न इच्छुक देखिएको जानकारहरू बताउँछन् ।
कोरोना कहरकै बीच चालू आर्थिक वर्षको चार महिनामा करिब २० अर्बको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म १९ अर्ब ८१ करोड रुपैयाँको वैदेशिक लगानी प्रस्ताव आएको छ । सो रकम लगानीमा ९४ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
वैदेशिक लगानी प्रस्ताव गत वर्षको सोही अवधिको तुलनामा करिब साढे ५ अर्बले कमी हो । गत आवको सोही अवधिमा २५ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो भने ११५ नयाँ उद्योग दर्ता भएका थिए ।
गत वर्षको तुलनामा लगानी प्रस्ताव घटे पनि अहिलेको अवस्थामा यत्तिको लगानी प्रस्ताव आउनु मुलुकका लागि सकारात्मक रहेका उद्योग विभागका सूचना अधिकारी विनोद खड्काले बताए । ‘विगतमा कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ, यो सकारात्मक हो, यसले कोभिडबाट भएको क्षतिलाई उठाउन ठूलो सहयोग गर्नेछ,’ खड्काले चाणक्य पोष्टसँग भने ।
चालू आवको चौमासिकमा आएको वैदेशिक लगानी प्रतिबद्धता मध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा पर्यटनतर्फ विदेशी लगानीका ६१ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योग सञ्चालनका लागि १४ अर्ब १५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
उक्त उद्योगहरू सञ्चालनमा आएपछि १ हजार ६०० बढी युवाहरूले रोजगार पाउने विभागले जनाएको छ । गत वर्षको पहिलो चौमासमा पर्यटनतर्फ ४९ वटा उद्योग सञ्चालनका लागि ७ अर्ब ३० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
यस्तै, सेवामूलक क्षेत्रमा २६ उद्योग सञ्चालनका लागि ४ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । यस क्षेत्रमा सो उद्योगहरू सञ्चालनमा आए १ हजार ६३ मानिसहरूले रोजगारको अवसर पाउने छन् ।
यस्तै पूर्वाधार र उत्पादकमूलक क्षेत्रमा ३/३ वटा नयाँ उद्योग सञ्चालनका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सो मध्ये पूर्वाधार तर्फ ३ उद्योग सञ्चालनका लागि ३० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उत्पादनमूलक क्षेत्रतर्फ ३ नयाँ उद्योग सञ्चालनका लागि ३६ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उक्त उद्योग सञ्चालनमा आए ८१ जनाले रोजगार पाउने छन् ।
कृषि तर्फ यो चौमासिकमा ३५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । कृषि तर्फ एउटा मात्र उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । उक्त उद्योग सञ्चानमा आए ३२९ जनाले रोजगारको अवसर पाउने छन् ।
स्वदेशी लगानीका ८१ उद्योग दर्ता
चालू आवको कात्तिक मसान्तसम्म स्वदेशी लगानीका ८१ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।
आन्तरिक लगानीमा सबैभन्दा बढी उत्पादन र सेवा मूलक क्षेत्रमा उद्योग दर्ता भएका छन् । सो क्षेत्रमा २०/२० वटा नयाँ उद्योग दर्ता भएका हुन् । उत्पादनमूलक क्षेत्रमा ५ अर्ब ५ करोड रुपैयाँ लगानीमा २० नयाँ उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो । सो उद्योगले सञ्चालन पछि १ हजार ४१७ लाई रोजगार दिने विभागको तथ्यांकले देखाएको छ ।
सेवामूलक क्षेत्रतर्फ २ अर्ब ९७ करोड रुपैयाँ लगानीमा २० नयाँ उद्योग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो उद्योग सञ्चालनपछि ९२७ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।
पर्यटनतर्फ ३ अर्ब २० करोड रुपैयाँ लगानीमा १५ नयाँ उद्योग दर्ता भएका छन् । उर्जा तर्फ ५१ अर्ब ९६ करोड रुपैयाँ लगानीमा १२ नयाँ उर्जा उत्पादनका आयोजना सञ्चालनका लागि दर्ता गरिएको छ ।
कृषितर्फ २ अर्ब ७५ करोड रुपैयाँ लगानीमा १० नयाँ उद्योग दर्ता भएका छन् ।सबैभन्दा कम सूचना क्षेत्रमा उद्योग दर्ता भएका छन् । सूचना प्रविधि तर्फ ६० करोड रुपैयाँ लगानीमा ४ उद्योग दर्ता भएका हुन् ।