नेपालमा पहिलोपटक यात्रुवाहक सवारीमा अनलाइन नियमन शुरु, टिकट विक्रीमा हुने विकृत्ति हट्ने
चाणक्य पोष्ट
प्रकाशित : 10:13 am, शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं । नेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणाली शुरु भएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम) को उद्घाटन गरे ।

 

सार्वजनिक यातायातमा टिकट खरिद विक्रीमा रहेका विकृत्ति हटाउनका लागि प्रणालीले सहयोग गर्न विश्वास लिइएको छ । प्रणालीमार्फत यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत नियामक निकायले कार्यालयबाट नै सवारीसाधनको नियमन गर्न सक्नेछन् । यातायात कम्पनी प्रणालीमा आबद्ध भएपछि सार्वजनिक सवारीसाधन कुन रुटमा, कति बजे छुट्ने, कति यात्रु र ककसले टिकट काटे, यात्रुको सम्पर्क नम्बरसमेत जानकारी पाउन सकिन्छ ।

 

सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक प्रतिनिधिसभामा छलफलका क्रममा छ । प्राधिकरणले यातायातका क्षेत्रमा रहेका धेरै समस्याको हल गर्ने मन्त्री नेम्वाङको भनाइ छ । उनले भने, ‘सार्वजनिक यातायातमा गर्नुपर्ने काममध्ये एउटा अनलाइन टिकट पनि हो ।’

 

प्रणालीका डिजाइनर मोहन बेल्वासेले यसले गर्दा नियामक निकाय, यात्रु र व्यवसायी सबैलाई फाइदा हुने बताए। कुनै पनि यात्रुले समस्या परेको गुनासो गरेमा त्यसको तत्काल समाधान गर्न सकिने उनको भनाइ छ ।

 

विभागले ‘मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुबाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद विक्री निर्देशका, २०७७’ अनुसार नै प्रणाली शुरु गरिएको हो । निर्देशिका गत असोज २५ देखि लागू भइसकेको छ । प्रणालीले कोभिड–१९ को जोखिम कम गर्नसमेत सघाउने अपेक्षा गरिएको छ ।

Advertisement Section