सेयर बजारमा इतिहासको तेस्रो धेरै कारोबार, यी कम्पनीका लगानीकर्ता भए मालामाल
चाणक्य पोष्ट
प्रकाशित : 3:26 pm, बुधबार, मंसिर ३, २०७७

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार ४४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

 

सूचकसँगै कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ । आज नेपाली सेयर बजारको इतिहासमै तेस्रो धेरै ४ अर्ब ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

 

यसअघि गत फागुन १८ गते इतिहासकै धेरै ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको कारोबार भएको थियो भने गत बिहीबार दोस्रो धेरै ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । तिहार अघिको एक हप्तामै करिब १०० अंकले बढेको बजार आज २३ अंकले बढेको हो । सेयर बजार मापक सूचक नेप्से २३.३२ अंकले बढेर १७४१.८१ विन्दुमा पुगेको छ । यसदिन १९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४८ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक घटेको छ । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५२१.३७ अंकले बढेको छ भने विकास बैंक समूहको सबैभन्दा धेरै २०.१८ अंकले घटेको छ ।

 

आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् ।यसको सबैभन्दा धेरै ३३ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै नेपाल टेलिकम र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालय डिस्ट्रिलरी, गोर्खा फाइनान्स, विशाल बजार, बोटलर्स नेपाल (तराई) र साल्ट्र ट्रेडिङका सेयरधनीले १० प्रतिशत कमाएका छन् । यस्तै, शिवम सिमेन्ट, शिखर इन्स्योरेन्स, नागरिक लगानी कोषको पनि सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले बढेको छ ।

 

दोहोरो अंकले बढेको बजारमा घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.८० प्रतिशतले गुमाएका छन् ।

 

Advertisement Section