काठमाडौं । ६० करोडको आइपीओ ल्याउने तयारीमा रहेको प्रभु लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १५३.२७ प्रतिशतले बढाएको छ ।
इन्स्योरेन्सले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १ करोड ८६ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सले २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १२ करोड ६८ लाख रुपैयाँले बढी हो । इन्स्योरेन्सले गत आवको पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले २२ हजार ५९४ वटा बीमालेख जारी गरी २५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले १७५ वटा दाबी बापत ६१ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ वटा दाबी वापत ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
हाल १ अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ र महाविपत्ती जगेडामा १ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।