काठमाडौं । आज सेयर बजारमा लाइफ इन्स्योरेन्स उप–सूचकले रेकर्ड कायम गरेको छ । यो उप–सूचकले इतिहासमै पहिलोपटक १० हजार विन्दु पार गरेको हो । हिजो ९ हजार ७७४ मा बन्द भएको यो उप–सूचक आज ४७६ अंकले बढेर १० हजार २५१ अंकमा बन्द भएको हो ।
प्राविधिक विश्लेषणको दृष्टिकोणले हेर्दा केही दिनयता लाइफ इन्स्योरेन्समा खरिद चाप बढ्दै गएको देखिएको थियो । साथै, कारोबार रकम पनि बढ्दै गएको देखिएको थियो ।९ हजार ९२० को ‘रेजिस्टेन्स लेभल’लाई पार गरेर आज यो उप–सूचकले शिखर चुमेको हो ।
आज यो उप–सूचक अन्र्तगतका कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ । नेशनल लाइफको सेयरमा आज सबैभन्दा बढि ५.२९ प्रतिशतको बढोत्तरी भएको छ भने सबैभन्दा ठूलो कम्पनी नेपाल लाइफको पनि सेयर मूल्यमा ५.२८ प्रतिशतको बढोत्तरी भएको छ ।
यसैगरी एसियन लाइफ, लाइफ इन्स्योरेन्स र्कोपरेशन, सूर्य लाइफ जस्ता कम्पनीको सेयर मूल्य पनि ५ प्रतिशत हाराहारीले नै बढेको छ ।यो उप–सूचक केही महिना अघिसम्म (गत मे महिना) ६ हजार ६३९ को वरिपरी थियो ।
१० हजार भन्दा माथी उक्लेको यो उप–सूचक आगामी दिनहरुमा अझै बढ्दै जाने देखिएको प्राविधिक विश्लेषकहरु बताउँछन् ।