नगरकोट-धुलिखेल पर्यटकीय सडक कालोपत्र गरिँदै

काठमाडौं । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्र गर्ने काम अगाडि बढेको छ ।

 

वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो ।

 

वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका–३ को बाँसघारी हुँदै गोसाइँस्थान–टनचोक–काँसीभञ्ज्याङ–नगरकोट सडकखण्ड अन्तर्गत बाँसघारीदेखि गोसाइँस्थानसम्म निर्माण गरेको सडकखण्डको कालोपत्रे गर्ने काम भइरहेको छ ।

 

बनेपा नगरपालिका–६ का स्थानीय भेषराज शाहले प्रदेश सरकारले धुलिखेल–नगरकोट जोड्ने पर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई धार्मिकरूपले महत्वपूर्ण रहेको गोसाइँस्थान क्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताए ।

 

‘पक्की सडक बनेसँगै होटल व्यवसायको साथमा नैमिसारण्य गुरुकुल शिक्षा र गोसाइँस्थानको धार्मिक क्षेत्रको सम्भावना अझ बढेको छ,’ उनले भने, ‘यहाँको स्थानीयवासीको पनि अर्थोपार्जनमा धुलिखेल–नगरकोट पर्यटकीय सडकले अर्को फाइदा पुर्याएको छ ।’

 

काभ्रेको धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिका गरी तीन नगरपालिकालाई जोड्ने सो सडकखण्ड निर्माण कार्य सम्पन्न भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै त्यसले व्यावसायिकरूपले स्थानीयवासीको समेत आर्थिकस्तरमा वृद्धि हुने र जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

 

प्रदेशसभा सदस्य हुमागाईँले भन्नुभयो, “प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकबाट धुलिखेल–रविओपी–टनचोक–नगरकोट सडकको १८ किलोमिटर सडकको बाँसघारीदेखि गोसाइँस्थानसम्मको एक किलोमिटर कालोपत्रे गर्ने कामसमेत अन्तिम चरणमा पुगेको छ ।’

 

पर्यटनको लागि अति महत्वपूर्ण सडक भएकाले सो सडक सम्पन्न भएपछि नगरकोटको पर्यटकलाई धुलिखेलसम्म ल्याउन र त्यहाँबाट प्रसिद्ध धार्मिकस्थल नमोबुद्धसम्म जानका लागि निकै सहज हुने उनको भनाइ छ ।

 

त्यससँगै वाग्मती प्रदेश सरकारले पर्यटन पैदलमार्गका लागि नगरकोटबाट टनचोक धुलिखेल–नमोबुद्ध हुँदै तेमालसम्मको क्षेत्रलाई समेटेर निर्माण गर्ने परिकल्पना गरी डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) समेत सम्पन्न गरिसकेको उनले बताए ।

 

त्यस्तै वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको लाँकुरीभज्ञ्याङ–कुशादेवी–पनौती–नमोबुद्ध-चौकीडाँडा सडकको निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

 

सो सडक निर्माण कार्य सम्पन्न भएपछि काठमाडौँबाट बाहिरिने र उपत्यका भित्रिने महत्वपूर्ण मार्ग बन्नेछ । वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब ६१ करोड विनियोजन भई निर्माण कार्य भइरहेको उक्त सडकखण्डको र्यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तरोन्नतिको काम करिब अन्तिम चरणमा पुगेको छ ।

 

उक्त सडक सञ्चालनमा आएपछि अरनिको र बिपी राजमार्गमा सवारी चाप कम हुनेछ । सडकखण्डको नमोबुद्ध नगरपालिका वडा नं ९, १० र ११ का बासिन्दा तथा रोशी गाउँ पालिकाका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दालाई सहज हुने भएको छ ।

 

नेपाल सरकारले १२८ वैकल्पिक राजमार्ग बनाउँदै छ । एनएच ५० अन्तर्गत यो सडक निर्माण भइरहेको छ । जिल्लाकै तेस्रो ठूलो सडकका रूपमा निर्माण भइरहेको सडक ११ मिटर चौडाइको बन्नेछ ।

 

प्रदेश सरकारले काभ्रेपलाञ्चोकको २ नं निर्वाचन क्षेत्र ख अन्तर्गत ११ वटा सडकको डीपीआर सम्पन्न गरिसकेको जनाएको छ । नाला–काशीभञ्ज्याङ–नयाँगाउँ–हिले–कुन्ता सडकको निर्माण कार्य प्रारम्भ भइसकेको प्रदेशसभा सदस्य हुमागाईँले बताए । सडकसँगै ८ वटा पुल, भवन र सिँचाइसहित २५ वटा योजनाको डीपीआर तयार गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ ।

बढेन दूधको उपभोग, उत्पादनको ७० प्रतिशत मात्रै खपत Read Previous

बढेन दूधको उपभोग, उत्पादनको ७० प्रतिशत मात्रै खपत

उपत्यकामा बन्ने ४ स्मार्ट सिटी स्वदेशी लगानीमै बनाउने तयारी, यसरी जुटाइने छ लगानी रकम Read Next

उपत्यकामा बन्ने ४ स्मार्ट सिटी स्वदेशी लगानीमै बनाउने तयारी, यसरी जुटाइने छ लगानी रकम