काठमाडौं । आगामी साता दुई कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आउने भएको छ ।
बुधबार (कात्तिक २६ ) देखि माउण्टेन इनर्जी नेपाल र बिहीबार (कात्तिक २७) गतेदेखि युनाइटेड इदी-मार्दी एण्ड आरबी हाइड्रोपावरको आइपीओ आउने भएको हो ।
माउण्टेन इनर्जीको १९ लाख ६८ हजार
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गर्न लागेको हो।
निष्काशित कुल सेयर मध्ये २ प्रतिशत (३९ हजार ३६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४०१ कित्ता) सामूहिक लगानी कोषहरुका छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्ने छन् ।
कम्पनीले कुल ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारीका लागि अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले यसअघि नै यसअघि पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयलाई १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ विक्री गरिसकेको छ ।
कम्पनीको आइपीओमा सर्वसाधारणले कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा मंसिर १० गतेसम्म आवेदन दिन पाउनेछन् ।
लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेको छ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर ‘एनपी ग्रेड ४ प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको संकेत गर्दछ ।
युनाइटेड इदी-मार्दीको ८ करोड ७३ लाख रुपैयाँको
युनाइटेड इदी-मार्दीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ८ करोड ७३ लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओ विक्री गर्ने भएको हो ।
निष्काशन हुने कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ८ लाख १२ हजार ७३६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई ४ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो । सोमध्ये विक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित अहिले सर्वसाधरणमा निष्काशन गर्न लागेको हो ।
कम्पनीको आइपीओमा लगानीकर्ताले कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा भने मंसिर ११ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको संकेत गर्दछ ।