धमाधम आन्तरिक ऋण उठाउँदै सरकार, २० अर्बको विकास ऋणपत्र विक्री गर्दै

काठमाडौं । सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेको छ । चालू आवको असोजसम्म ३७ अर्ब ऋण उठाएको सरकारले फेरि २० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

 

यसैक्रममा, नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ विक्री गर्ने भएको छ ।

 

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र विक्री गर्न लागेको हो । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

 

बैंक तथा वित्तीय संस्था, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित व्याजमा समेत ब्याजकर लाग्ने सूचनामा उल्लेख छ ।

 

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछ भने प्रतिस्पर्धी र अप्रतिस्पर्धीबीच बोलकबोल प्रक्रियामा क्रमशः ८५ र १५ प्रतिशत गरी छुट्याइएको छ । प्रतिस्पर्धीलाई १७ अर्ब र अप्रतिस्पर्धीलाई ३ अर्ब छुट्याइएको छ ।

 

कम्तीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् ।

 

इच्छुक बोलकबोलवालाले बहुब्याजदरमा समेत बोल गर्नसक्ने व्यवस्था गरिएको छ । ऋणपत्रको कारोवार दोस्रो बजार कारोवारमार्फत नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।

कात्तिक २६ गतेदेखि माउण्टेन इनर्जीको आइपीओ खुल्ने Read Previous

कात्तिक २६ गतेदेखि माउण्टेन इनर्जीको आइपीओ खुल्ने

बुधबारदेखि पर्यटकीय बस सेवा शुरु हुने, यी रुटमा चल्नेछन् बस Read Next

बुधबारदेखि पर्यटकीय बस सेवा शुरु हुने, यी रुटमा चल्नेछन् बस