खाद्यान्नमा आत्मनिर्भर नारामै सीमित, ३ महिनामै ६३ अर्बको खाद्य वस्तु आयात

काठमाडौं । सरकारले कृषिमा आत्मनिर्भर हुने नारा घन्काइरहे पनि व्यवहारमा भने परनिर्भरता बढ्दो देखिएको छ । सरकारले कृषि उत्पादन वृद्धि गर्ने कुनै ठोस र प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा खाद्यान्न, तरकारी, फलफूल लगायत उपभोग्य वस्तुमा परनिर्भरता झनै बढ्दै गएको हो ।

 

सरकारले कृषि उत्पादकत्व वृद्धि गर्न विभिन्न टुक्रे कार्यक्रम ल्याए पनि त्यसको एकीकृत रुपमा प्रभावकारी कार्यान्वन हुन सक्दा कृषकहरु पेशाप्रति आकर्षित हुन सकेका छैनन् । त्यस्तै कृषि पेशामै आबद्ध कृषकहरुले पनि समयमै गुणस्तरीय बीउ, रासायनिक मल, कृषि उपकरण लगायत नपाउँदा कृषि उत्पादन बढाउन सकेका छैनन् । जसले खाद्यान्नमा वर्षेनी परनिर्भरता बढ्दै गएको देखिन्छ ।

 

कृषि प्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भरता वर्षेनी बढ्दै गएको सरकारी तथ्यांकले नै देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा खाद्यान्नमा परनिर्भरता करिब ४० प्रतिशतले बढेको छ ।

 

समृद्ध नेपालको नारा घन्काउने सरकारले आधुनिक र वैज्ञानिक कृषि प्रणाली अपनाइ कृषि उत्पादकत्व बढाउन नसक्दा वर्षेनी भरनिर्भरता बढ्दै गएको जानकारहरु बताउँछन् ।

 

कृषि प्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भरता वर्षेनी बढ्दै गएको सरकारी तथ्यांकले नै देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा खाद्यान्नमा परनिर्भरता करिब ४० प्रतिशतले बढेको छ ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ वर्ष यताकै बढी खाद्य वस्तु आयात भएको देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा गत वर्षको तुलनामा १५ अर्ब ९० करोड रुपैयाँ बढीको खाद्य वस्तु आयात भएको हो ।

 

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनामा ६३ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बराबरको खाद्य वस्तु आयात भएको छ । सो अवधिमा कुल १ अर्ब २१ करोड केजी खाद्य वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३९ करोड ४४ लाख ४४ हजार केजी बढी हो । उक्त खाद्य वस्तु आयातका क्रममा सरकारले ११ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

 

यस्तै, गत आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासिकमा खाद्यन्न आयातका क्रममा ४८ अर्ब ८३ लाख रुपैयाँ बाहिरिएको थियो । सो अवधिमा ८१ करोड ९० लाख केजी खाद्य सामग्री आयातका क्रममा ८ अर्ब ३५ करोड ६९ लाख रुपयाँ राजश्व संकलन गरेको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा खाद्य वस्तु आयातका क्रममा ४६ अर्ब ६ करोड ३५ लाख रुपैयाँ देशबाट बाहिरिएको थियो । सो अवधिमा ९४ करोड २० लाख केजी खाद्य वस्तु आयातका क्रममा ७ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

खाद्यान्न आयात बढ्दो भए पनि समग्र वैदेशिक व्यापार भने घट्दो क्रममा रहेको छ । कोरोनाका कारण तेस्रो मुलुकबाट सामान ल्याउन नसक्दा आयात घटेको हो ।

 

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख रुपैयाँ बराबरका सामग्रीहरु आयात भएको छ । सोही अवधिमा ३१ र्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको छ ।

 

गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाख रुपैयाका सामग्री आयात भएको थियो । २७ अर्ब १६ करोड ६७ लाद रुपैयाँ बराबरका सामग्री निर्यात भएको भनसार विभागको तथ्यांकले देखाएको छ ।

 

यस्तै, आर्थिक वर्ष २०७५/७६ को त्रैमासिकमा कुल ३ खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ नेपालबाट बाहिरिएको थियो । सोही अवधिमा २३ अर्ब ७४ करोड ४९ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएका थिए ।

माइक्रोफाइनान्सको सेयर झुम्मिए लगानीकर्ता, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

माइक्रोफाइनान्सको सेयर झुम्मिए लगानीकर्ता, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

१० कित्ताका लागि भाग्यमै भर पर्नुनपर्ने, सबैले पाउने गरी आइपीओ ल्याउँदै मध्य भोटेकोशी Read Next

१० कित्ताका लागि भाग्यमै भर पर्नुनपर्ने, सबैले पाउने गरी आइपीओ ल्याउँदै मध्य भोटेकोशी