हुम्ला विमानस्थलमा पुनः कालोपत्रको काम धमाधम हुँदै, १५ दिनभित्र सकिने

हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ । ६५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमकोट विमानस्थलमा झण्डै एक महिनादेखि काम जारी छ ।

 

एप्रोन तथा पार्किङ १०० मिटर, हेलिप्याड ४० मिटर रहेको छ भने यी सबै क्षेत्रको कालोपत्र गरिने भएको हो । विमानस्थलको रनवे, एप्रोन अर्थात् जहाज पार्किङ, हेलिप्याडलगायतका सबै क्षेत्रमा कालोपत्र गरिने भएको छ ।

 

रनवेको करिब ४०० मिटर भागमा कालोपत्र कार्य सकिएको र बाँकी रहेको भाग १५ दिनभित्र गरिसक्ने विमानस्थलका इञ्जीनियर अजयकुमार गुप्ताले जानकारी दिए । ‘विमानस्थलको रनवे क्षेत्रको भागमा कालोपत्र गर्ने कार्य सकिएपछि हेलिप्याड, एप्रोन तथा पार्किङ भागमा पनि गरिने भएको छ,’ इञ्जीनियर गुप्ताले भने, विमानस्थललाई यसभन्दा पहिला नै कालोपत्र गरेको भए पनि रनवे केही भागमा कालोपत्र उप्किएका कारण पुनः दुई इञ्चको कालोपत्र गरिएको हो ।’

 

प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म हजाईजहाज उडान भर्ने भएका कारण १० देखि बेलुका छ बजेसम्म कामदारले कालोपत्र गर्ने काम धमाधम गरिरहेको उनले बताए । निर्धारित समयमा विमानस्थलको पिचिङ कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आवश्यक सामग्री तयारी अवस्थामा पारेपछि कामले गति लिएको हो ।

 

अलकत्राको काम गर्नका लागि तराईबाट कामदार ल्याएर विमानस्थलको पिचिङ गर्ने कार्य धमाधम भइरहेको निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि विजय लामाले बताए। कामले दशैँ अवधिमा पनि निरन्तरता पाएको थियो ।

 

यसअघि नेपालगञ्जबाट हवाईजहाजमा अलकत्राका लागि आवश्यक सामग्री ढुवानी गरेर ल्याइएको र अन्य सामान स्थानीयरूपमै तयार गरिएको थियो । विमानस्थलकै एक छेउमा अलकत्रा बनाउने कार्य पनि बिहानैबाट हुने गरेको छ । विमानस्थल कालोपत्रका लागि ९ करोड ९७ लाख बराबरको लगानीमा निर्माण भइरहेको छ ।

लक्ष्मी बैंकलाई एडीबीद्वारा अग्रणी साझेदार बैंकको रूपमा सम्मानित Read Previous

लक्ष्मी बैंकलाई एडीबीद्वारा अग्रणी साझेदार बैंकको रूपमा सम्मानित

कोरोना यता डेढ लाख नेपाली विदेशबाट फर्किए, उनीहरुको सीपको उपयोग कसरी गर्ने Read Next

कोरोना यता डेढ लाख नेपाली विदेशबाट फर्किए, उनीहरुको सीपको उपयोग कसरी गर्ने