फलफूलमा पनि परनिर्भरता बढ्दो, ३ महिनामै नेपालीले खाए ४ अर्बको विदेशी फलफूल

काठमाडौं । तरकारी, खाद्यान्न जस्तै फलफूलमा पनि परनिर्भरता बढ्दो क्रममा रहेको छ । सरकारले स्वदेशमै फलफूल उत्पादन वृद्धि गर्न कुनै आकर्षित कार्यक्रम नल्याउँदा र ल्याएका कार्यक्रम पनि प्रभावकारी नहुँदा वर्षेनी अर्बाैं रुपैयाँको फलफूल आयात भइरहेको छ ।

 

पछिल्लो ३ महिनामा मात्रै नेपालीहरूले विदेशबाट किनेर ४ अर्बभन्दा बढीको फलफूल खाएका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनामा ४ अर्ब १० करोड ११ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।

 

चालू आवको साउनदेखि असोजसम्ममा ४ अर्ब रुपैयाँ बराबरको ४ करोड ९६ लाख केजी फलफूल आयात भएको हो । यो वर्ष गत वर्षको तुलनामा फलफूल कम आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

सरकारले स्वदेशमै फलफूल उत्पादन वृद्धि गर्न कुनै आकर्षित कार्यक्रम नल्याउँदा र ल्याएका कार्यक्रम पनि प्रभावकारी नहुँदा वर्षेनी अर्बाैं रुपैयाँको फलफूल आयात भइरहेको छ ।

 

गत आवको सोही अवधिमा ५ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । गत वर्ष ३ महिनामा ५ करोड १७ लाख ६५ हजार केजी फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो वर्ष गत वर्षको तुलनामा १ अर्ब ८२ करोड रुपैयाँ कम मूल्यको फलफूल आयात भएको हो ।

 

भन्सार विभागका सूचना अधिकारी शिषिर घिमिरे यो वर्ष कोभिडका कारण फलफूल विगतमा जस्तो आयात नभएको बताउँछन् । उनले यो पटक फलफूलको माग कम भएको र कोरोनाका कारण अपत नहुने भएकाले आयातमा कम भएको बताए ।

 

‘यो वर्ष फलफूल आयात कम छ, चाडवाड भए पनि काठमाडौंमा उपभोक्ता कम भएकाले खपत पनि खासै नभएकाले आयातमा कमी आएको हो,’ उनले चाणक्य पोष्टसँग भने ।

 

यो वर्ष स्याउ सबैभन्दा बढी आयात भएको छ । स्याउ १ अर्ब ३२ करोड ९१ लाख रुपैयाँ बराबरको आयात गरिएको छ । सो अवधिमा १ करोड ८० लाख केजी स्याउ आयात भएको हो ।

 

केरा १४ करोड ८२ लाख रुपैयाँ बराबरको आयात भएको छ । ३ महिनाको यो अवधिमा मूल्यको ६१ लाख केजी केरा आयात भएको हो । आँप, मेवा लगायतका फलफूलहरू ३७ करोड ११ लाख रुपैयाँ बराबरको आयात भएको छ । सो रकमको ७१ लाख ७२ हजार केजी मेवा तथा आँप आयात भएको हो ।

 

सुन्तला ६ करोड २१ लाख रुपैयाँ बराबरको आयात भएको छ । सो अवधिमा १० लाख केजी बढी आप आयात भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कुल २० अर्ब ७४ करोड ६२ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । सो वर्ष २८ करोड ४ लाख केजी फलफूल आयात भएको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा कुल १४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सरकारले फलफूलमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने गरे पनि आयत भने कम गर्न सकिएको छैन ।

 

स्वदेशमा फलफूल उत्पादन घट्दो

 

हाल हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ लगायतका जिल्लामा स्याउ खेती भइरहेको छ । नेपालमा स्याउ उत्पादन हुने गरेपनि त्यसको बजार विस्तार गर्न नसक्दा अझै स्याउँमा आत्मनिर्भर हुन सकेको छैन ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतका अनुसार पछिल्लो समय फलफूलको उत्पादन घटेको छ । उनले स्याउनको उत्पादन केही प्रतिशतले घटेको भए पनि केराको भने उत्पादन वृद्धि भएको बताए । उनले नेपालमा केराको उत्पादन बढेकै कारण यो पटक केरा अयात कम भएको बताए ।

 

‘यो वर्ष नेपालमा केरा उत्पादन निकै राम्रो भएको छ, यसैगरी सुधारिदै गयो भने केरामा छिटै आत्मनिर्भर हुन सकिन्छ,’ अध्यक्ष बस्नेतले भने । अमिलो खालका फलफूलहरूमा किरा लागेकाले यो वर्ष उत्पादनमा कमी आउने उनले जानकारी दिए ।

 

चितवनस्थित बनाना क्याफेका सञ्चालक यज्ञ प्रशाद सुवेदी यो पटक विगतको तुलनामा केराको उत्पादन धेरै भएको बताउछन् । चितवनमा मात्र डेढ अर्ब रुपैयाँ बराबरको केराको कारोबार हुने गरेको छ । यो पटक कोरोनाका कारण केराको कारोबारमा ३५ प्रतिशतसम्म घाटा भएको उनले बताए ।

 

किसानका खेतमा उत्पादन भएका केराहरू बजारसम्म पुग्न नसक्दा खेतबारीमै कुहिनु परेकोले किसानले केही घाटा बेहोर्नु परेको हो ।७० विगा जमिनमा उनले प्रति विगा २ हजार बोटका दरले १ लाख ४० हजार बोट केरा रोपेका थिए । उनले रोपेको केरा मध्ये ४० प्रतिशत केरा लकडाउनका कारण बजारसम्म पुर्याउन नसक्दा खेतमै विग्रेको थियो ।

 

चितवनका किसानहरूले केरा खेतीबाट १५ देखि २० प्रतिशत नाफा कमाउने गरेका थिए । तर, यो पटक लकडाउन र निषेधाज्ञाका कारण त्यो मुनाफा किसानले कमाउन नसक्नेका हुन् ।

 

चितवनमा मात्र ४ हजार बिगा क्षेत्रफलमा केराको व्यवसायीक खेती गरिन्छ । सरकारले वर्षेनी आफै केराको विरुवा बाड्ने भए पनि त्यसको बजारीकरणको कुनै वास्ता नगर्दा किसान मारमा पर्ने गरेका छन् ।

 

नेपालमा भारतबाट ५० प्रतिशत केरा आयात हुने गरेको छ । सरकारले फलफूल उत्पादनलाई बजारीकरण गर्न आफै किन्नु पर्ने अथवा भारतको आयात रोके मात्र नेपालमा उत्पादिन फलफूलले बजार पाउने सुवेदी भन्छन् ।

 

‘भारतबाट मात्र ५० प्रतिशत केरा आयात हुन्छ, हामीले उनीहरूसँग कम्पिटिसन गर्न सक्दैनौँ, कि आयात बन्द गर्नु पर्यो कि सरकार आफैले हाम्रो लागत मूल्य तिरेर किन्नु पर्यो नत्र हामी घाटामा छौं ’ सुवेदीले भने ।

सौराहा  घुम्नेको लर्को, अपेक्षाभन्दा बढी पर्यटक आएपछि व्यवसायी उत्साहित Read Previous

सौराहा घुम्नेको लर्को, अपेक्षाभन्दा बढी पर्यटक आएपछि व्यवसायी उत्साहित

नेपाल बैंकको खुद नाफा ३ करोड घट्यो,  वितरणयोग्य नाफा साढे १९ करोड Read Next

नेपाल बैंकको खुद नाफा ३ करोड घट्यो, वितरणयोग्य नाफा साढे १९ करोड