कातिक १५ देखि कालीगण्डकी खोँचमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प सञ्चालनमा आउने

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।

 

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो ।

 

२०७३ सालदेखि पुलको निर्माण शुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

 

५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

 

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए।

 

बन्जी र स्वीङ दुबैको मूल्य ७ हजार तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी वा स्वीङको ८ हजार ४५० रुपैयाँ रहेको छ । टेण्डम (जोडी) स्वीङको १२ हजार छ । गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ २२८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २४८ मिटर छ ।

 

यसको परिकल्पनाकार राजु कार्की र फोलोरेन्स कार्की हुन् । रिसोर्टसहित २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरै परिवर्तन ल्याउनेछ । एशियाकै अग्लो स्थानबाट बन्जीजम्प, प्राकृतिक सुन्दरता र कालीगण्डकी खोँचको सुन्दर दृश्य यो पुल र पुलसँग जोडिएका संरचना प्रयोग गर्दा लाग्ने खर्चको उपयोगिता पुष्टि गर्ने माध्याम हुन् ।

 

यहाँ सञ्चालनमा रहेको रिसोर्टले पोखरा काठमाडौंका सुविधासम्पन्न स्टार होटेल र युरोपका शहरहरूको रिसोर्ट बसाइको झल्को मेटाउने खालको छ । निजी क्षेत्रको लगानीमा बनेको यो पुलसँगैका संरचनाको प्रयोगमा निश्चित शुःल्क लाग्छ ।

 

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र बन्जीजम्प बन्न सक्छ । साहसिक पर्यटनका लागि यहाँ बनेका संरचना नेपालमै अद्भूत छन् । सामान्य लठ्ठेपिङ खेलाउनका लागि समेत प्रयोग भएको प्रविधिले सबैलाई लोभ्याउँछ । २२८ मिटरको उचाइ, कालीगण्डकीले चिरेको पहाडका परिदृश्यमा स्काई साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो ।

 

बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल यो बन्न सक्छ । नेपालमै पनि प्राकृतिक नदीमाथि बनाइएका बन्जीहरूबाट नदीको बहाव र हिमाल मुस्कुराएको दृश्य देख्ने अन्यत्र कुनै ठाउँ छैन । बलेवा विमानस्थल, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग यसका आधार क्षेत्र हुन् । सहज यातायातको व्यवस्था हुँदा पर्यटकहरूलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । बन्जीजम्पले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत ठूलो योगदान गर्ने नै छ ।रासस

उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी निजी क्षेत्रलाई बेच्ने Read Previous

उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी निजी क्षेत्रलाई बेच्ने

अक्सफोर्डको कोरोना भ्याक्सिन डिसेम्बरसम्म तयार हुने दाबी Read Next

अक्सफोर्डको कोरोना भ्याक्सिन डिसेम्बरसम्म तयार हुने दाबी