काठमाडौं । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त मध्ये हालसम्म ७ वटा लघुवित्त संस्थाहरुले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । जसमा ५ लघुवित्तले बोनस सेयर र नगद दुवै लाभांश दिने घोषणा गरेका छन् भने दुई लघुवित्तले केही पनि नदिने घोषणा गरेका छन् ।
हालसम्म समता लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त, आशा लघुवित्त र आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेका छन् । स्वदेशी लघुवित्त र समिट लघुवित्तले भने गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका लघुवित्तमध्ये समताले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । समताले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३२ नगद गरी कुल २६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस्तै, आरएमडीसीले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी प्रतिशत, फस्ट माइक्रोफानान्सले ९.५० प्रतिशत बोनस र ४.१३ नगद गरी १३.६८ प्रतिशत, आशा लघुवित्तले १५ बोनस र ०.७९ नगद गरी कुल १५.७९ प्रतिशत र आरएसडीसीले ९ प्रतिशत बोनस र ३.६३ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
लघुवित्तहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीहरुको वार्षिक साधरण सभाले स्वीकृति गरेपछि सेयरधनीले पाउनेछन् ।