विश्वकै ठूलो साढे ३५ खर्बको आइपीओ जारी गर्न अनुमति, एकैपटक दुई स्टक एक्चेन्जमा सूचीकृत हुने

चीनको अलिबाबा ग्रुपको कम्पनी ‘एन्ट ग्रुप’ले विश्वको अहिलेसम्मकै ठूलो आइपीओ निष्काशन गर्न अनुमति पाएको छ ।

 

चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई ३० अर्ब डलर (करिब साढे ३५ खर्ब रुपैयाँ)को आइपीओ निष्काशन गर्न चीनको धितोपत्र नियामक आयोगले अनुमति दिएको हो ।

 

यो आइपीओ विश्वमै अहिलेसम्म निष्काशन भएको सबैभन्दा ठूलो आइपीओ हुनेछ । यसअघि गत डिसेम्बरमा साउदी आरामकोले २९.४ अर्ब डलरको आइपीओ निष्काशन गरेको थियो ।

 

आइपीओ पश्चात कम्पनीको सेयर एकैपटक हङकङ र साङघाइको सेयर बजारमा सूचीकृत हुने भएको छ । यसरी एकैपटक दुर्ईवटा स्टक एक्सचेन्जमा कुनै कम्पनी सूचीकृत हुन लागेको यो पहिलो अवसर हो ।

 

एन्ट ग्रुप विश्वकै ठूलो ‘फिन टेक’ कम्पनी हो । यो ग्रुपले विश्वकै ठूलो मोबाइल र अनलाइन पेमेन्ट प्लेटर्फम ‘अलि पे’ सञ्चालन गर्छ । यसका अलवा यो ग्रुपले थर्ड पार्टी क्रेडिट सिस्टम ‘सिसम क्रेडिट’ पनि सञ्चालन गर्दछ ।

 

चिनियाँ नियामकहरू यो कम्पनीको वृद्धिका लागि फण्ड जुटाउन मद्दत पुर्याउनका लागि लागिपरेका छन् भने लगानीकर्ताहरू पनि सेयर किन्न लालायित भइरहेका छन् ।

 

महामारीको यो समयले कम्पनीहरूको पूँजी संकलन गर्ने तरिकामा ठूलो परिर्वतन गर्न बाध्य पारेको छ । यसको आकारले गर्दा एन्टको आइपीओले डिजिटाइजेशनको डिललाई नयाँ उचाइमा लैजाने बताइएको छ ।

 

अहिलेको अवस्थामा एन्टको मूल्याङ्कन २३० अर्ब डलर देखि २५० अर्ब डलरसम्म रहेको मानिएको छ । प्रि आइपीओका लगानीकर्ताले यो कम्पनीको मूल्याङ्कन ३०० अर्ब डलरसम्म गरेका छन् ।

 

एन्टको आइपीओको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको दुईवटा स्टक एक्सचेन्जमा एकैपटक सूचीकृत गर्नका लागि स्वीकृति पाउनु रहने छ । लगानीकर्ताहरूसँग अझ राम्रो डिल गर्नका लागि एन्टले दुर्ईवटा स्टक एक्सचेन्जमा एकैपटक सूचिकृत हुन चाहेको हो । यो नयाँ प्रयोगले आइपीओ निष्काशनको समय केही लम्ब्याएको छ ।

 

यसका अलावा नियामकहरू कम्पनी प्रति अलिबाबा र ज्याक माको जवाफदेहीताको बारेमा प्रष्ट हुन चाहिरहेका छन् । यो पेमेन्ट प्रणालीमा केही समस्या आएमा भरपर्दो जवाफदेहीताको खोजी उनीहरू गरिरहेका छन् ।

दशैंसँगै हरियाली हुँदै सेयर बजार, लगातार दोहोरो अंकको वृद्धि Read Previous

दशैंसँगै हरियाली हुँदै सेयर बजार, लगातार दोहोरो अंकको वृद्धि

अमेरिकामा भन्दा चीनमा अर्बपतिको संख्या धेरै, चिनियाँ धनाढयले कोरोना कालमै कमाए १४ खर्ब डलर Read Next

अमेरिकामा भन्दा चीनमा अर्बपतिको संख्या धेरै, चिनियाँ धनाढयले कोरोना कालमै कमाए १४ खर्ब डलर