५४ मेवा क्षमताको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न
चाणक्य पोष्ट
प्रकाशित : 11:16 am, सोमबार, कात्तिक ३, २०७७

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

 

पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रशारणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए ।

 

कुल ८ अर्ब ८० करोड रुपैयाँको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी रहेको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ ।

 

आयोजनाको २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा २०७१ मा विद्युत खरीद सम्झौता (पीपीए) गरी २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको बताइएको छ ।

 

आयोजनामा नबिल बैंकको अगुवाइमा नौ ओटा बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा ८.४० रुपैयाँ र वर्खायाममा ४.८० रुपैयाँ विद्युत् खरीद गर्ने सम्झौता भएको छ ।

 

यसअघि ७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत् उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत् उत्पादन गरिसकेका छन् । रासस

Advertisement Section