काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवन र तनहुँ जोड्ने मुग्लीन आर्क ब्रिज सञ्चालनमा आएको छ । मंगलबारबाट आर्क ब्रिजलाई ट्रायलको रुपमा सञ्चालन गरिएको सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए ।
उनका अनुसार सो ब्रिजलाई चाँडै नै आधिकारीक रुपमा सञ्चालन गरिने छ । हाल फिनिसिङ टपको तयारी भइरहेको उनले बताए । ‘पुल बनिसकेको छ, फिनिसिङ टप बाँकी छ त्यो पूरा भएपछि चाँडै आधिकारिक रुपमा सञ्चालनमा आउने छ, हाल ट्रायलको रुपमा सञ्चालन गरिएको हो,’ सापकोटाले चाणक्य पोष्टसँग भने ।
१ सय ६० मिटर लामो सो पुल नेपालको पहिलो २ लेनको आर्क ब्रिज हो । पुलको चौडाई ११ मिटर रहेको छ । पुल नेपाली ठेकेदार इलाइट एडभेन्चर लोहनी जेभीले निर्माण गरेको हो ।
पुल निर्माण २ वर्ष अघि सक्नुपर्ने थियो । पहिलो पटक नयाँ डिजाइनको पुल निर्माण गर्नुपर्ने भएकाले निर्माणमा ढिलाई भएको विभागले जनाएको छ ।पुल निर्माणका लागि विश्व बैंकको १२ करोड रुपैयाँ लगानी गरेको थियो ।
२०७१ सालबाट निर्माण सुरु गरिएको सो पुल २०७५ साल फागुनमा पूरा गरी सञ्चालनमा ल्याउने गरी ठेक्का लगाइएको थियो । तर, निर्माण सम्पन्न गर्न ठेकेदारले थप समय थपिएको थियो । पुरानो पुल जीर्ण भएपछि मुग्लिन नयाँ पुल निर्माण गरिएको हो ।