 
			काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । अघिल्ला चार दिनमा करिब ३० अंकले घटेको बजार साताको अन्तिम कारोबार दिन एक अंकले बढेको हो ।
अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनले लगानीकर्ता खासै उत्साहित नभए पनि बजारले भने उनलाई हरियो झन्डा देखाएको छ । सेयर बजारमैत्री अर्थमन्त्री भनेर चिनिएका पौडेलको आगमनले लगानीकर्ता निकै उत्साहित हुने अनुमान गरिए पनि त्यस्तो भने हुन सकेन् । अघिल्लो पटक पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले ऐतिहासिक १८८१ विन्दु चुमेको थियो ।
दशैं नजिकिएसँगै बजारबाट ठूला लगानीकर्ता बाहिरेने क्रम बढ्दा र प्रफिट बुक गर्ने हाबी हुँदा कारोबार पनि सुस्त हुँदै गएको छ । । गतहप्तासम्म औसतमा दैनिक साढे २ अर्ब कारोबार हुँदै आएकोमा पछिल्ला दिनहरुमा त्यो क्रमशः घट्दै डेढ अर्ब मुनि झरेको छ ।
सेयर बजार मापक सूचक नेप्से आज १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा पुगेको छ । यसदिन १९६ कम्पनीको १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ४९ हजार ३६७ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक ओरालो लागेका छन् । आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ७.१० अंकले बढेको छ भने उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २९.५५ अंकले घटेको छ ।
आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै ७ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा शिवम् सिमेन्ट र अरुण भ्याली हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज गुराँस लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.२१प्रतिशतले गुमाएका छन् ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                