‘विज्ञ’ अर्थमन्त्री युवराज खतिवडाले छाडेर गएको अर्थमन्त्रालय सम्हाल्न ‘न–विज्ञ’ राजनीतिज्ञ विष्णु पौडेल आइपुगेका छन् । तर, खास कुरा चाहिँ के हो भने नेपालका राजनीतिज्ञ ‘न-विज्ञ’ होइनन् कि बरू सबै क्षेत्रका ‘विज्ञ’ हुन्छन् । यसको ज्वलन्त उदाहरण अहिलेका प्रधानमन्त्री नै छन् ।
अब युवराज खतिवडाको ठाउँमा विष्णु पौडेल आएपछि नेपालको अर्थतन्त्र कता जाला ? ‘विज्ञ’को ठाउँमा राजनीतिज्ञ आएपछि अर्थतन्त्र कति प्रभावकारी बन्ला ? भन्ने जस्ता ‘गम्भीर’ विषयमा विश्लेषणहरू हुन थालिसकेका छन् ।
खतिवडाको ठाउँमा पौडेल आउँदा आफूलाई कसरी फाइदा होला भन्ने जोड घटाउमा सहरका साहु महाजनहरू पनि लागिसके होलान् ।
खास कुरा चाहिँ के हो भने नेपालका राजनीतिज्ञ ‘न-विज्ञ’ होइनन् कि बरू सबै क्षेत्रका ‘विज्ञ’ हुन्छन् । यसको ज्वलन्त उदाहरण अहिलेका प्रधानमन्त्री नै छन् ।
खासमा भन्नुपर्दा खतिवडाको ठाउँमा विष्णु पौडेल अर्थमन्त्री बनेपछि सहरका साहु महाजन, व्यापारी, दलाल लगायतलाई एउटा ठूलो राहत भने मिलेको छ ।
खतिवडा राजनीतिक मानिस थिएनन् । उनको जवाफदेहीता प्रधानमन्त्रीसँग मात्र थियो । उनका कार्यकर्ता थिएनन् । त्यसैले उनकोमा पहुँच बनाउन कि त प्रधानमन्त्रीलाई नै रिझाउनु पर्यो वा उनका विश्वासिलो नाता कुटुम्बको दौराको फेरो समात्नुपर्यो । अब मानिसको नाता कुटुम्ब त सीमित हुन्छन् । स्रोत (पहुँचको) सीमित तर साहु महाजनहरू आकांक्षा असीमित भएपछि समस्या हुने नै भयो ।
त्यसैले खतिवडाकोमा ‘सेटिङ’ मिलाउनको लागि अलि असहज थियो । तर, जसले सेटिङ मिलाउन सके उनीहरूले सायद राम्रै गरे ।
खतिवडासँग काम गर्न अर्को समस्या पनि थियो । खतिवडाले केही पढेका थिए । राज्यका केही निकायहरूमा जागिर पनि खाएका थिए । त्यसैकारण उनलाई मिडियाले ‘विज्ञ’, ‘अर्थतन्त्र बुझे’को इत्यादि भनेर उचाले । त्यो छवीलाई कायम गर्नुपर्ने चुनौती पनि उनी सामु थियो । त्यसैले उनी अरूका कुरा सुन्दैन थिए । साहु महाजनलाइ उनलाई कुरा सुनाउन केही गाह्रो थियो । नेपाल जस्तो देशमा जानेको मान्छेले अरुको कुरा सुन्दैनन् । अरुको कुरा सुनेपछि त आफूले जानको केही अर्थै भएन नि !
कृष्ण प्रणामी भएका कारण खानपीन गरेर भावुक हुँदै मनको कुरा भन्ने–सुन्ने सुविधा पनि उनीसँग भएन ।
खासमा भन्नुपर्दा खतिवडाको ठाउँमा विष्णु पौडेल अर्थमन्त्री बनेपछि सहरका साहु महाजन, व्यापारी, दलाल लगायतलाई एउटा ठूलो राहत भने मिलेको छ ।
यस्ता समस्याहरू विष्णु पौडेलको मन्त्रीत्व कालमा नहोलान् । उनी राजनीतिक मानिस हुन् । उनीसँग सम्पर्क भएका धेरै मानिसहरू छन् । जो कसैको माध्यमबाट पनि उनीसँग पुग्ने र काम मिलाउने वातावरण तयार पार्न धेरै सहज छ ।
अर्को कुरा, पौडेल राजनीतिक मानिस भएका कारण उनी सबैको कुरा सुन्छन् । उनलाई सबै कुरा बुझेजस्तो गर्नुपर्ने अतिरिक्त कार्यभार छैन । उनको काँध हलुका छ । मृदभाषी छन् । आउँदो चुनावलाई ध्यानमा राखेर सबैजनालाई खुसी पार्नुपर्ने भएकाले पनि उनीसँग कुरा मिलाउन सहज पक्कै हुनेछ ।
अन्य बाँकी कुरा भनेको त्यस्तै हो । समग्र पार्टी, सरकार र प्रधानमन्त्री नै दिग्भ्रमित भएको बेला एकाध मन्त्री आउने जाने कुराको ‘बौद्धिक विश्लेषण’ गरेर खासै हुने केही होइन ।
तर पनि गम्भीर विश्लेषणहरू आइनै रहलान् अझै केही समय । वास्तवमा भन्ने हो भने गम्भीर विषयको हल्का विश्लेषण र हल्का विषयको गम्भीर विश्लेषण नेपालको सदाबहार नियति नै हो ।