जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड-१९ खोपको अन्तिम परीक्षण स्थगित

कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ ।

 

कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणका क्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु स्वाभाविक रहेको जनाएको छ । खासगरी खोपमा सहभागीहरुको ठूलो संख्या भएपछि एकाध व्यक्तिमा स्वास्थ्य समस्या देखिन्छ, कम्पनीले भनेको छ ।

 

कम्पनीका फिजिसियन र सुरक्षा अनुगमन समूहले ती व्यक्तिमा देखिएका स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्ने बताएको छ । खोप लगाएका व्यक्तिको निजी गोपनीयताको संरक्षण गर्ने भन्दै कम्पनीले ती व्यक्तिका बारेमा केही बताएको छैन ।

 

अमेरिकामा ठूलो संख्याका व्यक्तिमा यो खोप लगाइएको छ ।ठूलो मेडिकल अध्ययनमा अस्थायी रोकावटलाई सामान्य रुपमा लिइने गरिन्छ । कम्पनीहरुले औषधिको परीक्षणका क्रममा व्यक्तिमा देखिने गम्भीर वा अनपेक्षित प्रतिक्रियालाई अनुसन्धान गर्नुपर्ने हुन्छ ।

 

जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको सम्बन्धी पहिलो समाचार स्ट्याटले दिएको थियो ।अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा तयार पारेको खोपको अन्तिम चरणको परीक्षण अहिले अमेरिकामा रोकिएको छ । अमेरिकी अनुसन्धाताहरुले खोपले मानिसमा कुनै स्वास्थ्य जोखिम निम्त्याउने हो वा होइन भन्ने अध्ययन गरिरहेका छन् ।

 

अस्ट्राजेनिका-अक्सफोर्डको खोप लगाएकी एक महिलामा स्नायुप्रणालीमा समस्या आएपछि खोप परीक्षण स्थगित गरिएको थियो । तर यस खोपको परीक्षण अन्य मुलुकमा जारी रहेको छ ।

 

जोन्सन एन्ड जोन्सनले खोपको एक डोजले नै कोरोना भाइरसबाट सुरक्षा दिने गरी तयार पारेको आफ्नो खोपमा ६० हजार व्यक्तिलाई सहभागी गराउने लक्ष राखेको छ । अमेरिकाका अन्य कम्पनीले भने कोरोनाभाइरसबाट सुरक्षित राख्न व्यक्तिलाई खोपको दुई डोज लगाउने गरी खोप निर्माण गरिरहेका छन् । एपी

यात्रुलाई ठग्दै सार्वजनिक यातायात, सरकारको नियम लत्याउँदै ५० प्रतिशत बढी भाडा अशुल्दै Read Previous

यात्रुलाई ठग्दै सार्वजनिक यातायात, सरकारको नियम लत्याउँदै ५० प्रतिशत बढी भाडा अशुल्दै

‘न-विज्ञ’ अर्थमन्त्रीको इन्ट्रीले साहू महाजनलाई काम गर्न सजिलो होला, बाँकी कुरा त्यस्तै हो Read Next

‘न-विज्ञ’ अर्थमन्त्रीको इन्ट्रीले साहू महाजनलाई काम गर्न सजिलो होला, बाँकी कुरा त्यस्तै हो