दर्ता शुल्क छुट भएपछि उद्योग दर्ता गर्ने ह्वात्तै बढ्दै, एक महिनामै थपिए ३५९ उद्योग

बाँके । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा १ महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

 

कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनक रुपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारुले जानकारी दिए।

 

उनका अनुसार, चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकोमा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३५९ उद्योग दर्ता भएका छन् ।

 

प्रदेश सरकारको गत भदौ २३ गते गतदेखि लागू हुने गरी घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन आएपछि गत भदौ २४ देखि असोज २४ गतेसम्म एक महिनाको अवधिमा मात्रै ३५९ उद्योग दर्ता भएको प्रमुख उद्योग अधिकृत थारुले बताए।

 

‘५ लाख रुपैयाँसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै हुने व्यवस्था छ, पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ,’ उनले भने, ‘उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेका छन् ।’

 

२० लाख सम्मको पूँजीमा सञ्चालन हुने उद्योगको५ हजार, २० लाखदेखि ५० लाखसम्मको १५ हजार र ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताको लागि २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णय पछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरुपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारुले जानकारी दिए ।

 

घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्ने निर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन मिलेको बताए। रासस

टेलिकमले ल्यायो चाडवाड लक्षित प्याकेज, कुन अफरमा कस्तो सुविधा Read Previous

टेलिकमले ल्यायो चाडवाड लक्षित प्याकेज, कुन अफरमा कस्तो सुविधा

यात्रुलाई ठग्दै सार्वजनिक यातायात, सरकारको नियम लत्याउँदै ५० प्रतिशत बढी भाडा अशुल्दै Read Next

यात्रुलाई ठग्दै सार्वजनिक यातायात, सरकारको नियम लत्याउँदै ५० प्रतिशत बढी भाडा अशुल्दै