कीर्ते कागज बनाएर अर्काको नाममा रहेको ५० करोड बराबरको जग्गा विक्री
चाणक्य पोष्ट
प्रकाशित : 8:40 am, मंगलबार, असोज २७, २०७७

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको ५ कठ्ठा १५ धुर जग्गा कीर्ते कागज बनाई विक्री भएको खुलासा भएको छ । उक्त जग्गाको मूल्य झण्डै ५० करोड रुपैयाँ रहेको जनाइएको छ ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ती व्यक्तिले आफ्नो नागरिकता समेत नक्क्ली बनाई कीर्ते कागजातका आधारमा अर्काको जग्गा हाता पारेर तेस्रो व्यक्तिलाई विक्री गरेको पाइएको हो ।

 

सो कीर्ते काममा ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबरा रहेको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

 

थापाका अनुसार उनले मुकेश राजभण्डारी नामको नक्कली नागरिकता बनाएर कीर्ते गरेको खुल्न आएको छ । मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा जग्गा धनी तथा निजको हकवाला समेतको हक मारी अर्काको जग्गा कीर्ते कागजात बनाई गत फागुन १९ गते आफ्नो नाममा पास गरेका थिए । त्यसपछि उक्त जग्गा पर्सा कै गिरधारी लाल अग्रवाललाई विक्री गरी ५० लाख रुपैयाँ बैना लिएको फेला परेको छ । त्यसपछि घटना बाहिर आएको हो ।

 

स्थानीय राजीव राजभण्डारीले लिखत र ठगी सम्बन्धी मुद्दामा जाहेरी दरखास्त दिएपछि व्यूरोले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका १३, कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबराले आफ्नो नाम मुकेशराज भण्डारी राखेर कीर्ते गरेको पाइएको हो । उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कीर्ते नागरिकता समेत बनाएको पाइएको छ ।

 

खोजीका क्रममा उनलाई काठमाडौँको रातोपुलस्थित डेराबाट आइतबार पक्राउ गरिएको र आज आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको व्यूरोका प्रमुख थापाले जानकारी दिए। प्रहरीले यसअघि पनि उनलाई विभिन्न कसुरमा मुद्दा चलाएको जनाइएको छ ।

Advertisement Section