चीनको अलिबाबा ग्रुपको कम्पनी एन्ट ग्रुपले विश्वको अहिलेसम्मकै ठूलो आइपीओ निष्काशन गर्ने भएको छ । ग्रुपले महामारीको समयमा नै ३० अर्ब डलर (करिब साढे ३५ खर्ब रुपैयाँ)को आइपीओ निष्काशन गर्न लागेको हो ।
आइपीओ पश्चात कम्पनीको सेयर एकैपटक हङकङ र साङघाइको सेयर बजारमा सूचीकृत हुने भएको छ । यसरी एकैपटक दुर्ईवटा स्टक एक्सचेन्जमा कुनै कम्पनी सूचीकृत हुन लागेको यो पहिलो अवसर हो ।
एन्ट ग्रुप विश्वकै ठूलो ‘फिन टेक’ कम्पनी हो । यो ग्रुपले विश्वकै ठूलो मोबाइल र अनलाइन पेमेन्ट प्लेटर्फम ‘अलि पे’ सञ्चालन गर्छ । यसका अलवा यो ग्रुपले थर्ड पार्टी क्रेडिट सिस्टम ‘सिसम क्रेडिट’ पनि सञ्चालन गर्दछ ।
एन्टको आइपीओको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको दुईवटा स्टक एक्सचेन्जमा एकैपटक सूचीकृत गर्नका लागि स्वीकृति पाउनु रहने छ । लगानीकर्ताहरूसँग अझ राम्रो डिल गर्नका लागि एन्टले दुर्ईवटा स्टक एक्सचेन्जमा एकैपटक सूचिकृत हुन चाहेको हो । यो नयाँ प्रयोगले आइपीओ निष्काशनको समय केही लम्ब्याएको छ ।
चिनियाँ नियामकहरू यो कम्पनीको वृद्धिका लागि फण्ड जुटाउन मद्दत पुर्याउनका लागि लागिपरेका छन् भने लगानीकर्ताहरू पनि सेयर किन्न लालायित भइरहेका छन् । ‘एन्टको आइपीओ ठूलो कोसेढुङ्गा हो’, यो कम्पनीको सेयरधनी एवं भेन्चर क्यापिटल फर्म चाइना ग्रोथका वेन सियोङ भन्छन् ।
महामारीको यो समयले कम्पनीहरूको पूँजी संकलन गर्ने तरिकामा ठूलो परिर्वतन गर्न बाध्य पारेको छ । यसको आकारले गर्दा एन्टको आइपीओले डिजिटाइजेशनको डिललाई नयाँ उचाइमा लैजाने बताइएको छ ।
चीनमा वर्षको शुरूवातको तुलनामा भाइरस नियन्त्रणमा आएपछि एन्टका अधिकारीहरूले विभिन्न लगानीकर्ताहरूसँग भेटघाट गरिरहेका छन् भने विदेशको यात्रामा भने संकुचन आएको छ । त्यसैले उनीहरू विदेशी लगानीकर्ताहरूसँग भिडियो कन्फ्रेन्सिङ मार्फत कुरा गरिरहेका छन् । यो माध्यमबाट उनीहरूले धेरै लगानीकर्ताहरूसँग कुरा गरिरहेका छन् ।
यसले परम्परागत मार्केटिङ प्रवृत्तिमा केही परिर्वतन ल्याएको छ । भिडियो कन्फ्रेन्सिङमा अधिकारीहरूले कम्पनीको पेमेन्ट एपबाट विश्वकै प्रविधि पावरहाउस सम्मको यात्राको वयान गर्ने गरेका छन् ।
कम्पनीको लगानीकर्ताहरू माझ वास्तविक मूल्य तय गर्न केही गाह्रो भएको कम्पनी स्रोत बताउँछ । तर, कम्पनीको व्यवसाय सम्पत्ति व्यवस्थापनदेखि लिएर बीमासम्म फैलिएका कारण मूल्य उच्च रहेको कम्पनी स्रोत बताउँछ । साथै, यो कम्पनी चीनको ई-कमर्श बादशाह अलिबाबा ग्रुपको छाता मुनी रहेको छ ।
अहिलेको अवस्थामा एन्टको मूल्याङ्कन २३० अर्ब डलर देखि २५० अर्ब डलरसम्म रहेको मानिएको छ । प्रि आइपीओका लगानीकर्ताले यो कम्पनीको मूल्याङ्कन ३०० अर्ब डलरसम्म गरेका छन् ।
एन्टको आइपीओको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको दुईवटा स्टक एक्सचेन्जमा एकैपटक सूचीकृत गर्नका लागि स्वीकृति पाउनु रहने छ । लगानीकर्ताहरूसँग अझ राम्रो डिल गर्नका लागि एन्टले दुर्ईवटा स्टक एक्सचेन्जमा एकैपटक सूचिकृत हुन चाहेको हो । यो नयाँ प्रयोगले आइपीओ निष्काशनको समय केही लम्ब्याएको छ ।
यसका अलावा नियामकहरू कम्पनी प्रति अलिबाबा र ज्याक माको जवाफदेहीताको बारेमा प्रष्ट हुन चाहिरहेका छन् । यो पेमेन्ट प्रणालीमा केही समस्या आएमा भरपर्दो जवाफदेहीताको खोजी उनीहरू गरिरहेका छन् ।
अहिलेसम्मकै ठूलो आइपीओ साउदी अरामकोले गत डिसेम्बरमा निष्काशन गरेको थियो । उक्त कम्पनीले २९.४ अर्ब डलरको आइपीओ निष्काशन गरेको थियो ।