काठमाडौं । आइतबार करिब १५ अंकले बढेको सेयर बजारमा आज सामान्य गिरावट आएको छ । बजार खुल्न बित्तैकै करिब १२ अंकले बढेको बजार अन्त्यमा करिब ४ अंकले घटेर बन्द भएको हो ।
घट्दो बजारमा लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीको सेयरमा देखिएको छ । पछिल्ला केही दिन बीमा कम्पनी, विकास बैंक, उत्पादनमूलक लगायत कम्पनीको सेयरमा झुम्मिएका लगानीकर्ता हाइड्रोतर्फ डाइभर्ट भएका हुन्। दुईसाता अघि पनि लगानीकर्ताको आकर्षण हाइड्रोपावरको सेयरमा देखिएको थियो ।
तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा हाइड्रोको सेयर मूल्य सस्तो, कोरोनाबाट कम प्रभावित क्षेत्र भएकाले लगानीकर्ता हाइड्रोको सेयरप्रति आकर्षित भएका हुन् ।अहिले पनि केही कम्पनीको मूल्य आइपीओकै हाराहारी अर्थात् १०० रुपैयाँभन्दा केही मात्र बढी छ ।
आज कारोबारमा आएका अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । लगानीकर्ताहरूले एउटा क्षेत्रका कम्पनीबाट पर्फिट बुक गरेपछि अर्को क्षेत्रतर्फ डाइभर्ट गरेको जानकारहरु बताउँछन् ।
सेयर बजार मापक सूचक नेप्से आज ३.६३ अंकले घटेर १५८२.१३ बिन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९५ लाख १८ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् । आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २७.३९ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ११५.१८ अंकले घटेको छ ।
आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै १४ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली र अरुण भ्याली हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
घट्दो बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज रैराङ हाइड्रोपावर र कामना सेवा विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.१९ प्रतिशत गुमाएका छन् ।