काठमाडौं । चालू आर्थिक वर्षको २ महिना (साउन भदौ) मा ४ अर्ब ४ करोड ६९ लाख ४७ हजार रुपैयाँ बराबरको औषधि आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आवको २ महिनामा २७ लाख ७० हजार केजी औषधि आयातका क्रममा १९ करोड ७५ लाख १४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
पीसीआर किट मात्र ८८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको पीसीआर किट आयात भएको छ । ८९ हजार ९४० पीसीआर किट आयातका क्रममा १० करोड ७२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
गत आर्थिक वर्ष २०७६/७७ को साउन र भदौ महिनासम्ममा कुल ५ अर्ब ८३ करोड ८७ लाख १४ हजार रुपैयाँ बराबरको औषधि जन्य वस्तु आयात भएको थियो । ४३ लाख २४ हजार ८ सय ६७ केजी औषधि जन्य वस्तु आयातका क्रममा २७ करोड २५ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
गत आर्थिक वर्ष २०७६/७७ मा कुल २८ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबरको औषधि जन्य वस्तुहरु आयात भएको थियो । सो अवधिमा १ करोड ९९ लाख १७ हजार केजी औषधिहरु आयात भएका थिए । सो औषधि आयातका क्रममा १ अर्ब ४० करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा ३० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधि आयात भएको थियो । सो अवधिमा ६० करोड २७ लाख केजी औषधि आयात गरिएको थियो । सो औषधि आयातका क्रममा १ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
भारतले २०७६ फागुन २० गतेबाट २६ प्रकारका औषधि तथा औषधि सामग्री निर्यातमा रोक लगाउने घोषणा गरेको थियो । भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ । यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो ।
चीनको नाका लामो समयदेखि बन्द हुनाले त्यहाँबाट आउने औषधिहरु आयात हुन सकेका छैनन् । केही समय यता चीनको रसुवागढी नाका खुल्ला गरिए पनि वर्षाका कारण आयात हुन सकेको छैन ।
नेपालमा धेरै औषधिहरु भारत हुँदै आयात हुने गर्छन् । जसको प्रभाव नेपालमा स्वत पर्ने भन्सार विभागका तथ्यांक अधिकृत मोहन पुडाशैनी बताउछन् ।
नेपाल औषधि उत्पादक संघले भने नेपालमा ३ महिनाका लागि औषधि उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ रहेको दाबी गरेको छ । संघका अनुसार प्याकेजिङका लागि समेत आवश्यक पर्ने सामग्री ३ महिना पुग्ने गरी रहेको छ । हाल देशभर ६२ वटा औषधि उद्योगहरु रहेका छन् ।
हवाई सञ्चालन पछि औषधि आयातमा सहज
चालू आर्थिक वर्षको २ महिनामा पीसीआर किटहरु मात्र ८८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको छ । ८९ हजार ९४० थान किट आयातका क्रममा १० करोड ७२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
केमिकल तथा मेडिकल सप्लायर्स संघले पछिल्लो समय खन्तराष्ट्रिय उडान समेत सुचारु गरिएपछि औषधि आयातमा केही सहज भएको छ ।
संघका सदस्य भक्त हमालकाले पीसीआर किटहरु सीधै हवाइजहाजबाट आउने भएकाले लामो समय अन्तराष्ट्रिय उडान सुरु नहुँदा समस्या भए बताए । लकडाउनका समयमा पिसिआर किटहरु चाटर्ड जहाजहरुबाट आयात भइरहेको बताए ।
‘आयातमा समस्या छैन तर, लक डाउनमा उडान सहज नहुँदा अडर गरेका पीसीआर समयमा आउनका पाएका थिएनन्,’ हमालले चाणक्य पोष्टसँग भने । पीसीआर किटहरु प्राय: कोरिया, जर्मन लगायतका देशहरुबाट आयात गरिन्छ ।