हवाई कम्पनी बीच सस्तो भ्रमण प्याकेज ल्याएर यात्रु तान्ने होजबाजी, कुन एयरलायन्सका कस्ता अफर

काठमाडौं । करिब ६ महिनापछि आन्तरिक उडान सञ्चालन भएसँगै एयरलायन्स कम्पनीबीच सस्तो भ्रमण प्याकेज ल्याएर यात्रु तान्ने प्रतिस्पर्धा चलेको छ ।

 

लकडाउनका कारण ६ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् ।

 

खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबीच पर्यटकीय गन्तव्यमा भ्रमणका लागि सस्तो प्याकेज बनाउने होडबाजी नै चलेको छ । यसले गन्तव्य भ्रमणमा निस्कने पारखीलाई त राहत मिलेको छ नै सिङ्गो पर्यटन क्षेत्रलाई पनि गतिशील तुल्याउन मद्दत पुग्ने व्यवसायीको अपेक्षा छ ।

 

६ महिना ठप्प भएको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्कने आशाका पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा एयरलाइन्सले पनि छुट र अफरका प्याकेज ल्याएका हुन् ।

 

६ महिना बन्द हुँदा ठूलो आर्थिक नोक्सानी बेहोरेका एयरलाइन्सले जोखिम मोलेर भए पनि यात्रुलाई तान्न सस्ता प्याकेज बनाएर बेच्न थालेका छन् । होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय संस्था सँगको साझेदारितामा एयरलाइन्सले विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि सस्तो प्याकेज धमाधम सार्वजनिक गरेका हुन् ।

 

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एक महिनाअघि नै आकर्षक पर्यटकीय प्याकेज सार्वजनिक गरेर बजारीकरण गरेको थियो । अर्को ठूलो एयरलाइन्स यतीले पनि आफ्नो २२औँ वार्षिकोत्सवको अवसर पारेर आन्तरिक उडान शुरु भएकै दिन सोमबार पत्रकार सम्मेलन गरी सस्तो भ्रमण प्याकेज घोषणा गरेको हो ।

 

६ महिना ठप्प भएको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्कने आशाका पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा एयरलाइन्सले पनि छुट र अफरका प्याकेज ल्याएका हुन् । भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि सञ्चालनमा आएको आन्तरिक उडानले पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ । अहिले हवाई उडानसँगै होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुलिसकेका छन् ।

 

कुन एयरलाइन्सका कस्ता अफर

 

बुद्ध एयरले आन्तरिक पर्यटनलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएकोे हो ।

 

बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो ।

 

दुई दिन तीन रातको प्याकेजमा पोखरा ५ हजार ९९९ रुपैयाँ र चितवनका लागि ७ हजार ९९९ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ ।

 

यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो ।

 

निजी क्षेत्रकै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ । सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाई समेत दृष्टिगत गरी कम्पनीले भ्रमणको सस्तो प्याकेज बनाएको हो ।

 

यतिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी विभिन्न १४ प्याकेज प्याकेज बनाएको छ । कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकट सहितका प्याकेज बनाएको छ । यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ ।

 

यतिले एभरेष्ट ट्रेल १३ हजार ९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम १० यात्रु आवश्यक), रारा २४ हजार ९९९ प्रतिव्यक्ति (२ रात, ३ दिन, न्यूनतम पाँच यात्रु आवश्यक), पोखरा ५ हजार ९९९ (२ रात, ३ दिन), चितवन १२ हजार ९९९ र १६ हजार ९९९ प्रतिव्यक्ति (२ रात, ३ दिन), मुक्तिनाथ दर्शन १२ हजार ९९९ प्रतिव्यक्ति (३ रात, ४ दिन, न्यूनतम ६ यात्रु आवश्यक) को अफर ल्याएको छ ।

 

त्यसैगरी, मुक्तिनाथ दर्शन १६ हजार ९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ७ यात्रु आवश्यक), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक ११ हजार ९९९ प्रतिव्यक्ति (५ रात, ६ दिन, न्यूनतम ६ यात्रु आवश्यक) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल १९ हजार ९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ८ यात्रु आवश्यक) रहेको छ । यस्तो प्याकेज अक्टोबर २०२० बाट लागू हुने गरी विक्री थालिएको कम्पनीले जनाएको छ ।

 

यस्तै निजी क्षेत्रका श्री एयरलायन्स लगायतले कम्पनीहरुले पनि भ्रमण प्याकेज ल्याउने तयारी गरिरहेको जनाएका छन् ।

चन्द्रगिरि रिसोट र केवल कारमा ५० प्रतिशत छुट Read Previous

चन्द्रगिरि रिसोट र केवल कारमा ५० प्रतिशत छुट

खानीडाँडा र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान हुने Read Next

खानीडाँडा र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान हुने