काठमाडौं । नेपाल-चीनलाई रेलमार्ग मार्फत जोड्न केरुङ-काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउने कामलाई चीनले तीव्रता दिएको छ ।
रेलमार्ग निर्माणका लागि चीनतर्फको भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सकिएको चीनले जनाएको छ । चिनियाँ टेलिभिजन सीजीटीएनका कार्यक्रम निर्माता सन सिवेइको ट्वीटरमार्फत चीनतर्फको भौगर्भिक अध्ययन सकिएको जानकारी दिएका हुन् ।
तिब्बतको सिगात्सेसम्म सन् २०१४ मा नै रेल आइसकेको छ । चीनले सन् २०२२ सम्ममा सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म ५५६ किलोमिटर लामो रेलमार्ग ल्याउने छ । र त्यसपछि काठमाडौंसम्म ७२ किलोमिटर रेलमार्ग सञ्चालन गर्ने पनि दुई देश बीच सहमति भइसकेको छ ।
कोरोनाका बीच करिब ३ महिना अघिदेखि चीनले आफ्नो क्षेत्रको भूभागमा रेलमार्ग निर्माणका लागि भौगोलिक अध्ययन गरिरहेको थियो । चिनियाँ सर्भे टोलीले भौगोलिक अध्ययनबाट रेलमार्ग निर्माण सम्बन्धी के निष्कर्ष निकालयो भन्ने नखुलाइए पनि थप अध्ययन आवश्यक रहेको जनाएको छ । अध्ययनको निष्कर्ष आएपछि रेलमार्गको डीपीआर निर्माणको प्रक्रिया अघि बढाउने चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
तिब्बतको सिगात्सेसम्म सन् २०१४ मा नै रेल आइसकेको छ । चीनले सन् २०२२ सम्ममा सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म ५५६ किलोमिटर लामो रेलमार्ग ल्याउने छ । र त्यसपछि काठमाडौंसम्म ७२ किलोमिटर रेलमार्ग सञ्चालन गर्ने पनि दुई देश बीच सहमति भइसकेको छ ।

सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म ५५६ किलोमिटर लामो रेलमार्ग चीनले सन् २०२२ सम्ममा पूरा गरिसक्ने योजनाका साथ काम शुरु गरेको चिनियाँ अधिकारीले बताएका छन् ।
काठमाडौं केरुङ रेलमार्ग निर्माणलाई नेपाल र चीन दुवै सरकारले उच्च महत्व दिएको पाइन्छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई २ वर्ष पहिले नै बुझाएको थियो । साथै, चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि सम्झौता भएको थियो ।
नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाँडफाँटसमेत गरेको थियो । सो अनुसार चीनले आफ्नो खर्चमा म्यापिङ सर्वे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ भने नेपालले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षालगायतका सहयोग उपलब्ध गराउने छ ।
सो रेलमार्गमा तीन चरणमा गरी अध्ययन सम्पन्न हुने बताइएको छ । पहिलो चरणमा हवाई सर्भेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इनभेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेल्वे अलाइनमेन्ट) रहेको छ । तीनै चरणको अध्ययनका लागि झण्डै दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।
चीनले आफ्नो तर्फको रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाए पनि नेपालतर्फ रेलमार्ग निर्माणका लागि अहिलेसम्म कुनै काम अघि बढेको छैन । लकडाउनका कारण हाल नेपालका तर्फबाट केही काम हुन नसकेको रेल विभागले जनाएको छ । अब चिनियाँ अधिकारीसँग छलफल गरी छिट्टै अध्ययनको काम अघि बढाइने विभागको भनाइ छ ।
दुई देश बीच भएको सम्झौता अनुसार नेपालले चीनलाई रेल निर्माण गर्न जमिन दिने छ भने चीनले आफ्नै लगानीमा सर्भे र रेलमार्ग निर्माण गर्नेछ । सोही अनुसार चीनले केरुङसम्म रेलमार्ग ल्याएपछि नेपालको तर्फबाट जमिन र अन्य सुविधाहरु पउपलब्ध गराइने विभागले जनाएको छ ।

रेल मार्ग निर्माणका लागि झन्डै २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त रेलमार्गमा अधिकांश पुल र सुरुङ हुने प्रारम्भिक अध्ययनले देखाएको छ । प्रतिघन्टा १२० किलोमिटर दौडने काठमाडौं-केरुङ रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान छ ।
चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गबाहेक काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो ।
त्यो अध्ययनमा केरुङबाट रसुवागढी-त्रिशुली-काठमाडौँसम्म रेल सञ्चालन सहज रहेको संकेत दिएको थियो । काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जाने र अर्को लुम्बिनी लैजाने रेलमार्गको विस्तार गर्न भने ‘केही कठिनाइ’ देखाएको थियो ।
गत आर्थिक वर्षमा रेलमार्ग निर्माणका लागि ७ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो । चालू आर्थिक वर्ष २०७७/७८ मा रेल मार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
-तस्वीर : चिनियाँ टेलिभिजन सीजीटीएनका कार्यक्रम निर्माता सन सिवेइको ट्वीटरबाट