घरेलु उद्योगमा १ अर्ब लगानी, १ हजार १ सय उद्योग दर्ता

दमौली । तनहुँ जिल्लामा दर्ता भएका घरेलु उद्योगमा एक अर्ब रुपैयाँभन्दा बढीको लगानी भएको छ ।आर्थिक वर्ष २०७५/७६ दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा एक अर्ब सात करोड ३८ लाख ७५ हजार ५५१ रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग विकास समिति दमौलीले जनाएको छ ।

 

सो अवधिमा एक हजार एक सय ३५ उद्योग दर्ता भएको समितिकी निर्देशक बिमला धितालले जानकारी दिइन् ।निर्देशक धितालका अनुसार उक्त अवधिमा उत्पादनमूलकतर्फ एक सय ४३, कृषि तथा वनजन्यतर्फ चार सय ९९, सेवामूलकतर्फ दुई सय ९५, पर्यटनमूलकतर्फ एक सय ९२ र निर्माणतर्फ ६ उद्योग दर्ता भएका छन् ।

 

सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । “कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको छ,” निर्देशक धितालले भनिन् ।

 

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यमी बन्ने युवाको सङ्ख्या वृद्धि भएपछि उद्योग दर्ता बढेको उनले जानकारी दिइन् । कृषि तथा वनजन्य उद्योगमा मात्रै ५३ करोड २० लाख १८ हजार ७०१ रुपैयाँ पूँजी लगानी भएको निर्देशक धितालले जानकारी दिइन् ।

 

जिल्लामा दर्ता भएका उद्योगमध्ये ८४ लघु, २३ घरेलु र एक हजार २८ साना उद्योग रहेका छन् । कार्यालयमा आर्थिक वर्ष ०७४/७५ मा ७८८ उद्योग दर्ता भएको थियो । जसमध्ये १४६ लघु उद्योग, ५९३ साना उद्योग र ४९ घरेलु उद्योग रहेका थिए ।

 

कार्यालयका अनुसार दर्ता भएका उद्योगबाट वार्षिक एक अर्ब ४१ करोड दुई लाख २१ हजार ९२० रुपैयाँ बराबरको वस्तु उत्पादन भएको छ । ती उद्योगमा एक हजार २८४ महिला र एक हजार ९९५ पुरुष गरी कूल तीन हजार २७९ जनाले रोजगारी पाएका छन् । उद्योग दर्ताबाट ३०७ महिला र ९२५ पुरुष गरी कुल एक हजार २३२ जना उद्यमी बनेका छन् ।

 

जिल्लामा हालसम्म पाँच हजार ५८६ उद्योग दर्ता भएको छ । जसमध्ये उत्पादनमूलकतर्फ ७९७, कृषि तथा वनजन्यतर्फ एक हजार ९६५, सेवामूलकतर्फ एक हजार ७२८, पर्यटनमूलकतर्फ एक हजार ८१, निर्माणतर्फ नौ, उर्जामूलकतर्फ तीन र सूचना प्रसारण तथा सञ्चारतर्फ तीन उद्योग छन् ।

 

कार्यालयले उद्योग दर्ताबापत आर्थिक वर्ष २०७५/७६ मा एक करोड ५९ लाख ३० हजार ४७२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । दर्ता भएका उद्योगमध्ये ७३० उद्योगले नवीकरण, ६७ उद्योगले नामसारी, नौ उद्योगले ठाउँसारी, ३८ उद्योगले उद्देश्य थप, ६० उद्योगले लगत कट्टा गरेका छन् भने १०२ उद्योगले प्रतिलिपि र ५० उद्योगले पूँजीवृद्धि गरेका छन् ।

 

१ लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले १ हजार १०० रुपैयाँ, ३ लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले ३ हजार १०० रुपैयाँ, ५ लाखरुपैयाँ सम्म पूँजी भएको उद्योगले ६ हजार १००रुपैयाँ, ५० लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले १२ हजार १००रुपैयाँ , १ करोडसम्म पूँजी भएको उद्योगले २० हजार १००रुपैयाँ, ५ करोड रुपैयाँसम्म पूँजी भएको उद्योगले ३० हजार १०० रुपैयाँ तथा ५ करोड रुपैयाँभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार ११० रुपैयाँ दर्ताबापत शुल्क बुझाउनुर्ने व्यवस्था छ ।

सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्दै महानगर Read Previous

सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्दै महानगर

बैशाखसम्ममा रेलबाटै सामान आयात निर्यात गर्नेः उपराष्ट्रपति पुन Read Next

बैशाखसम्ममा रेलबाटै सामान आयात निर्यात गर्नेः उपराष्ट्रपति पुन