काठमाडौं । अनलाइन कारोबार प्रणाली (टीएसएम) मा पटक पटक समस्या आएपछि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण सोधेको छ ।
कारोबार प्रणालीमा के भएको हो, कारण सहित जवाफ पठाउन भन्दै बोर्डले आइतबार नेप्सेलाई पत्र काटेको जनाइएको छ । बोर्डले यथाशीघ्र जवाफ पठाउन नेप्सेलाई निर्देशन समेत दिएको छ ।
पटक पटक एउटै समस्या दोहोरिँदा लगानीकर्ता मर्कामा परेको भन्दै बोर्डले नेप्सेलाई कारणसहित जवाफ माग गरेको हो ।
पछिल्लो समय नेप्सेको टीएमएसमा दिनहुँजसो समस्या आएर केही बेर कारोबार स्थगित हुँदै आएको छ । आज पनि कारोबार प्रणालीमा समस्या आएको थियो ।
नेप्सेले टीएमएसमा समस्या आएर कारोबार स्थगित भएपछि आज कारोबार समय सवा २ घण्टा बढाएर ५ः१५ बजेसम्म बजार खुल्ला राख्ने भएको छ । अहिले भने नेप्सेमा नियमित रुपमा कारोबार भइरहेको छ ।