निर्माण सम्पन्न भएको २ वर्षमा पनि अझै बनेन् कोटेश्वर-कलङ्की सडकमा ‘सर्भिस ट्रयाक’

कोटेश्वर-कलंकी सडकखण्ड ।

काठमाडौं । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्रयाक) निर्माण हुन सकेको छैन ।

 

चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक/एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो ।

 

सडक विभागले तीन वर्ष पहिले नै निर्माण शुरु गरेपनि अझै सम्पन्न भइसकेको छैन । निर्माण हुन बाँकी खण्डमा कतै भौगोलिक कठिनाइ त कतै त्यहाँ रहेका भौतिक संरचना हटाउन नसकिदा ‘सर्भिस ट्याक’ निर्माण गर्न नसकिएको हो । भौगोलिक कठिनाइ भएका स्थानमा काठमाडौँ चक्रपथ योजनाले सडकको साटो भ¥याङ बनाउने योजना गरेको छ । कतिपय स्थानमा भने समस्या हटाएर सडक नै बनाउने तयारी भएको छ ।

 

बालकुमारी पुलबाट कोटेश्वरतर्फ दुबैतर्फ ट्याक निर्माण हुन नसकेको योजना प्रमुख अमृतमणि रिमालले बताए । । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरी दुबैतर्फ भूगोल अग्लो होचो रहेको छ । थोरै क्षेत्रमा जमीनको तह निकै फरक रहेकाले सडक बन्न नसकेको हो । सडकको दायाँतर्फ सडकको साटो भर्याङ हालिने तयारी भइरहेको छ । बायाँतर्फ सडकको अधिकार क्षेत्रमा दुई घरका कारण सर्भिस ट्याक बन्न सकेको छैन ।

 

चक्रपथको अधिकार क्षेत्रबीच भागबाट दुबैतर्फ २५/२५ मिटर र अर्को छ/छ मिटर ‘सिड बेल्ट’ हुन्छ । ‘सिड बेल्ट’ समेत ३१ मिटर चौडाइ भएपनि त्यही क्षेत्रमा घरहरु रहेका छन् । स्थानीयबासीले सहयोग गर्दा मात्रै सो स्थानमा सडक बन्न सक्ने उनको भनाइ छ । उनले भने, ‘ती घर नभत्काउँदासम्म सर्भिस ट्याक बनाउन सकिँदैन ।’

 

एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा रहेकाले त्यस स्थानमा पनि सडक बन्न सकेको छैन । तत्काल त्यसलाई नहटाए सडक बनाउन नसकिने प्रमुख रिमालले बताए। यातायात व्यवस्था कार्यालयदेखि एकान्तकुना चोकसम्म पनि भूगोलका कारण सडक निर्माण कठीन रहेको छ । सो स्थानमा डिजाइनमा नै त्रुटि रहेकाले सडक निर्माण गर्न नसकिएको उनले बताए ।

 

डिजाइनमा ‘सर्भिस ट्याक’ मुख्य र सहायक सडकभन्दा कम उचाइमा बनाउने योजना रहेको थियो । सो स्थानमा पहिरोको समस्या भएको उनले बताए। अहिले यो सडक अरु लेनजस्तै उचालेर बनाउने गरी तयारी भइरहेको छ । खसीबजारमा पनि ‘सर्भिस ट्याक’ निर्माण अघि बढ्न सकिरहेको छैन ।

 

‘अण्डर पास’ रहेको सो स्थानमा भौगोलिक कठिनाइकै कारण सडक निर्माण हुन नसकेको हो । बाँकी रहेका अरु स्थानमा निर्माण गर्ने योजना भएपनि तत्काल खसीबजारमा निर्माण अघि बढ्ने देखिँदैन ।

 

विसं २०७५ माघमा चीन सरकारले सो सडक गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । दस दशमलव चार किमी लम्बाइ सडक निर्माणको काम चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो । सोही वर्षदेखि नै सरकारले दुबैतर्फ एकएक लेनको सर्भिस ट्याक र छ आकाशे पुल निर्माण शुरु गरेको थियो ।

 

नेपालमा पहिलो पटक आठ लेन सडक र पहिलो ‘अण्डर पास’ लाई यो सडकको विशेषता मानिएको छ । खसी बजारचोकदेखि कलङ्की चोकसम्म रहेको ‘अण्डर पास’ को मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ । निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ र अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै थिए ।

 

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन हुने गरी डिजाइन भएको थियो । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि ‘सर्भिस ट्याक’ समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छ ।

 

चक्रपथ छिर्न चालकले पहिले सर्भिस ट्याक पुग्नुपर्छ । सर्भिस ट्याकबाट नै चालकले सहायक हुँदै मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सडकमा निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् ।

 

१०.४ किलोमिटरको यस सडकमध्ये ७.६ किमी काठमाडौँ र दुई दशमलव आठ किमी सडक ललितपुरमा पर्छ । चक्रपथको दोस्रो खण्डका रुपमा चीन सरकारले नै कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तार गर्दैछ । दोस्रो खण्डमा पनि पहिलो खण्डजस्तै आठ लेन हुनेछ भने पैदलयात्रुका लागि एक/एक किमीको फरकमा आकाशे पुल निर्माण हुने भएको छ ।

सरकारले चार दिनमै उठायो १४ अर्ब रुपैयाँ कर Read Previous

सरकारले चार दिनमै उठायो १४ अर्ब रुपैयाँ कर

कोरोनाले बढायो विश्वव्यापी आर्थिक असमानता, गरिब देशका ६९ प्रतिशत मानिसको आम्दानी घट्यो Read Next

कोरोनाले बढायो विश्वव्यापी आर्थिक असमानता, गरिब देशका ६९ प्रतिशत मानिसको आम्दानी घट्यो