काठमाडौं । काठमाडौंका मालपोत कार्यालयहरू आजदेखि खुले पनि नियमित सेवा भने आइतबारदेखि मात्रै दिने भएका छन् ।
टोखा मालपोत कार्यालय प्रमुख विष्णु गौतमका अनुसार आजबाट काठमाडौं उपत्यकाका सबै मालपोत कार्यालयहरू खुल्ला गरिए पनि सार्वजनिक सेवा भने खुल्ला नगरेको बताए ।
सबै कर्मचारीहरु मालपोत कार्यालय आएपनि आन्तरिक व्यवस्थापनको कामहरू मात्र भएको उनले बताए । उनले आइतबारबाट भीड नहुनेगरी मालपोत कार्यालयहरुले सेवा प्रदान गर्न शुरू गर्ने बताए ।
‘हामीले कार्यालय आजैबाट खुल्ला गरेका छौँ, आन्तरिक काम भएको छ, सर्वसाधनहरुलाई सेवा दिनेगरी आइतबारबाट खुल्ला हुन्छ,’ टोखा मालपोत कार्यालय प्रमुख पोखरेलले चााणक्य पोष्टसँग भने ।
उनले काठमाडौंका मालपोत कार्यालयहरू बार अनुसार छुट्याएर खुल्ला गराउने योजना रहेको बताए । हप्तामा एक पटक एउटा मात्र मालपोत कार्यालय खुल्ला गर्दा धेरै भीड नहुने र सो दिनमा मात्र सेवाग्राही आउने भएकाले आवश्यक काम कारवाहीका लागि मात्र आउने आनुमान गरिएको छ ।
उनले सबै प्रकारका सुरक्षा अपनाएर मालपोत कार्यालयलाई रोटेसनमा सञ्चालनमा ल्याउने तयारी भएको स्पष्ट पारे ।उपत्यकामा कोभिड १९ बढ्दै गए लगतै काठमाडौंका सबै मालपोत कार्यालयहरु साउन २७ गतेबाट बन्द गरिएको थियो ।
काठमाडौंका ६ वटा मालपोत कार्यालयहरू आइतबारबाट सेवा प्रदान गर्ने गरी सञ्चालन गर्न लागिएको हो । कुन बार कुन मालपोत कार्यालय खुल्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
यस अघि कोभिड १९को कम प्रकोप देखिएका स्थानहरुमा समेत मालपोत कार्यालयहरू सुचारु भइसकेको छ । झापा, रुपन्देही, चितवन लगायतका जिल्लामा मालपोत कार्यालयहरुबाट सेवा प्रदान भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक भरत गौतमले जानकारी दिए ।
भूमि तथा सहकारी मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार आफ्नो अवस्था हेरेर भीडभाड बढे वा संक्रमण देखिन थालेमा विभाग आफैले त्यस अनुसार निर्णय गर्न पाउने व्यवस्था रहेको छ । त्यस अनुसार विभाग, जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यालय प्रमुख आफैले सो निर्णय लिन र कार्यान्वयन गर्न सक्ने व्यवस्था रहेको बताए ।