काठमाडौं । आज सेयर बजारले कमब्याक गरेको छ । पछिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको बजारमा आज सुधार देखिएको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने करिब ३५ करोडले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ७.३५ अंकले बढेर १४९५.१६ बिन्दुमा पुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४१ लाख ८० हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये होट र बैकिङ समूह बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ८१.३० अंकले बढेको छ भने होटल समूहको परिसूचक ४.९६ अंकले घटेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २७ करोड ५५ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
पछिल्लो ३ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा आज नागरिक लगानी कोष र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज ५ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बढ्दो बजारमा उन्नति सहकार्य लघुवित्त, साल्ट ट्रेडिङ, एनअनरएन लघुवित्त र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज पनि एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । यो हप्ता यस कम्पनीको मूल्यमा लगातार नेगेटिभ सर्किट लाग्दै आएको छ ।