काठमाडौं । सरकारले देशभरका विमानस्थल निर्माणका लागि ५ वर्षे योजना बनाएको छ । जस अन्तर्गत देशभरका ३१ विमानस्थहरु स्तरोन्नति र आधुनिकीकरण गर्न लागिएको हो ।
सो विमानस्थलहरु आधुनिकि करणका लागि मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । सो प्रस्ताव स्वीकृत भएपछि त्यसको बजेट विनियोजन गरी टेन्डरतर्फ लाग्ने नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर प्रदीप अधिकारीले जानकारी दिए । उनले मन्त्रालयबाट विभानस्थल स्तरोन्नतिको प्रस्ताव स्वीकृत हुनासाथ यही आर्थिक वर्षभित्र टेन्डर हुने बताए ।
‘मन्त्रालयबाट स्वीकृत भएपछि टेन्डर प्रकृयामा लाग्ने छौँ, सक्दो यही आर्थिक वर्ष भित्र काम शुरू गर्ने योजना रहेको छ,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।
प्राधिकरणले सञ्चालनमा नरहेका विमानस्थलहरुलाई सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ भने विभिन्न साना विमानस्थललाई स्तोन्नति गर्ने योजना बनाएको छ ।
मन्त्रालयले प्रस्ताव स्वीकृत गरेको खण्डमा सिमरा, भरतपुर, रामेछाप, जुम्ला, सिमिकोट लगायतका विमानस्थलहरुको स्तरोन्नति यही आर्थिक वर्षबाट शुरू हुने सम्भावना रहेको उनले जानकारी दिए ।
नागरिक उड्यन प्राधिकरण (क्यान) का अनुसार अत्याधुनिक भौतिक निर्माण सहित देशभरका विमानस्थल स्तरोन्नतिको योजना बनाइएको छ । क्यानले साना विमानस्थलहरुको स्तरोन्नतिको काम छिटो शुरू भएमा छिटै सम्पन्न हुन सक्ने जनाएको छ ।
पछिल्लो समय कोभिड १९ का कारण मन्त्रालयमा प्रस्ताव भएका आयोजनाहरुमा केही काम हुन सकेको छैन । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कोभिडका कारण अहिले मन्त्रालयमा पठाइएको सो आयोजनामा कुनै छलफल हुन सकेको छैन ।उनले यस विषयमा छिट्टै टुंगो लाग्यो भने टेन्डर लगायतका अन्य प्रकृयाहरु शुरू गर्न सहज हुने बताए ।
नेपालमा कुल ५० वटा विनमास्थल रहेका छन् । ती मध्ये ३४ वटाका हाराहारीमा मात्र विमानस्थल सञ्चालनमा रहेका छन् ।प्राधिकरणका अनुसार हाल भरतपुर, चन्द्रगढी, बैतडी, बझाङ, दार्चुला, ढोरपाटन, डोटी, जिरी, अर्र्घाखाँची, लाङटाङ, महेन्द्रनगर, रोल्पा, मनाङ लगायतका विमानस्थलहरु सञ्चालनमा छैनन् ।
यस्तै बाग्लुङ, बाजुरा, भोजपुर, दाङ, धनगढी, जनकपुर, जोमसोम, जुम्ला, सिमिकोट, तेन्जीङहिलारी, तुम्लिङटार, ताप्लेजुङ, रुकुम, सिमरा, सुर्खेत लगायतका विमानस्थलहरु मात्र हाल सञ्चालनमा रहेका छन् ।
हाल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा एक मात्र त्रिभुवन विमानस्थल रहेको छ भने गौतमबुद्ध, निजगढ र पोखरा आन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा रहेका छन् ।
प्राधिकरणले सञ्चालनमा नरहेका विमानस्थलहरुलाई सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । विभिन्न साना विमानस्थलहरुलाई स्तोन्नति गर्ने योजना बनाएको छ ।
कुन विमानस्थल कस्तो बनाउने योजना छ ?
भरतपुर विमानस्थल :
भरतपुर विमानस्थलमा १ हजार ६५० मिटरको रनवे निर्माण गरिने छ । हाल १ हजार १५८ मिटर रहेको विमानस्थलको रनवे ४९२ मिटर बढाउने प्राधिकरणको योजना छ ।

विमानस्थल स्तरोन्नतिपछि विमानस्थलबाट ड्यास–८, एटीआर–७२ विमानहरु सञ्चालन गर्न सकिने छ । यस विमानस्थलमा रात्री विमान सेवाको समेत व्यवस्था गरिनुका साथै नयाँ टर्मिनल भवन निर्माण गरिने योजना रहेको छ ।
विराटनगर विमानस्थल :
विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बनाइने भएको छ । विमानस्थलमा ३ हजार मिटर लामो रनवे निर्माण गर्न लागिएको हो । यो त्रिभुवन विमानस्थलमा रहेको रनवे सरह हुनेछ ।
विमानस्थलमा ८४० मिटरको ट्याक्सी वे समेत निर्माण गरिने छ । कर्मचारीहरुका लागि समेत विमानस्थल भित्रै क्वाटरको व्यवस्था गरिने क्यानले जनाएको छ ।
सो विमानस्थल स्तरोन्नति पछि सीआरजे–७००, ड्यास ८ लगायतका ठूलो एयरक्राफ्टहरु सञ्चालन गर्न सकिने छ । विमानस्थल निर्माणका लागि ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
नेपालगञ्ज विमानस्थल :
नेपालगञ्ज विमानस्थलमा २ हजार ६५० मिटर रनवे बनाइने भएको छ । सो विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको समेत डिजाइन तयार भइसकेको छ । टर्मिनल भवनका लागि मात्र २ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।
मास्टर प्लान अनुसार विमानस्थल स्तरोन्नतिका लागि ११८ बिगाहा जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ । सो विमानस्थल स्तरोन्नतिका लागि १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विमानस्थल स्तरोन्नति पूरा भएपछि ए–३२०, बी–७३७ जस्ता एयरक्राफ्टहरु उडान भर्न सकिने छ ।

चन्द्रागढी विमानस्थल :
चन्द्रागढी विमानस्थललाई ५ वर्षमा सीआरजे–७००, ड्यास ८ लगायतका विमान अवतरण गर्न सक्ने क्षमतामा विस्तार गर्न लागिएको छ । यसमा नयाँ टर्मिनल भवन राखिने छ भने १ हजार ८३० मिटरको रनवे समेत निर्माण भइसकेको छ ।
यस विमानस्थललाई फ्यूल स्टेसनको रूपमा विकास गरिने योजना क्यानको रहेको छ । यसका लागि कुल ५ अर्ब लागत अनुमान गरिएको छ ।
धनगढी विभानस्थल :
धनगढी विमानस्थल स्तरोन्नतिका लागि २४३ बिगाहा जग्गा अतिग्रहण गर्नु पर्ने छ । २ हजार ५ सय ५० मिटर रनवे निर्माण गरिने छ विमानस्थललाई ए३२०, बी–७४७ लगायतका विमानहरु सञ्चालन गर्न सकिने गरि स्तरोन्नति गरिने छ । विमानस्थर स्तरोन्नतिका लागि कुल ५ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।
जनकपुर विमानस्थल :
जनकपुर विमानस्थलमा ५ वर्षभित्र नयाँ टर्मिनल भवन निर्माण गर्नुका साथै सीआरजे–७००, ड्यास ८ लगायतका विमान सञ्चालन हुन सक्ने गरी स्तरोन्नति गरिने छ ।
विमानस्थलमा १ हजार ३०० मिटरको रनवेमा कालोपत्र गरी निर्माण गरिने जनाइएको छ । हाल सो स्थानमा घाँसे मैदान रहेको छ । विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण बाहेक १ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ ।
राजविराज विमानस्थल :
राजविराज विमानस्थललाई स्तरोन्नतिका लागि ९७ बिगाहा जमिन अधिग्रहण गर्नु पर्ने भएको छ । सो निर्माण पछि विमानस्थलमा एटीआर–७२, ड्यास ८ लगायतका ठूला विमानहरु सञ्चालन गर्न सकिने छ ।
विमानस्थर स्तरोन्नतिका लागि ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विमानस्थलमा कन्ट्रोल टावर निर्माण गर्नुका साथै हवाइ इन्धन राख्नका लागि स्टेसन समेत बनाइने योजनामा रहेको छ ।
हाल राजविराज विमानस्थलमा १ हजार ७०० मिटरको रनवे निर्माण गर्नुका साथै टर्मिनल भवनको समेत निर्माण पूरा भइसकेको क्यानका सूचना अधिकारी त्रिलोचोन पौडेलले जानकारी दिए ।
साना आन्तरिक विमानस्थल स्तरोन्नतिका योजना
क्यानले २४ वटा साना आन्तरिक विमानस्थलहरु समेत स्तरोन्नति गर्ने योजना बनाएको छ । हाल जीर्ण अवस्थामा रहेको सो विमानस्थहरुमा घाँसे मैदान भएको स्थानमा कालोपत्र गरिन थालेको छ भने । अब आउँदो समयमा दैनिक सञ्चालनको व्यवस्था हुने गरी स्तरोन्नति गर्न लागिएको पौडेलले बताए ।
सुर्खेत विमानस्थल : सुर्खेत विमानस्थलको घाँसे रनवेलाई कालोपत्र गरिने भएको छ । २५ बिगाहा जग्गा अधिग्रहण गरी १ हजार ५५५ मिटरको रनवे समेत निर्माण गरिने योजना रहेको छ । सो विमानस्थलमा चाँडै रात्री सेवा समेत सञ्चालन गरिने जनाइएको छ ।
यसका लागि ८ अर्बका हाराहारीमा लागत अनुमान गरिएको छ । जग्गा अधिग्रहणका लागि मात्र ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अन्य भौतिक निर्माणका लागि ३ अर्ब खर्च हुने छ ।
तुम्लिङटार विमानस्थल : तुम्लिङटार विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणाधीन अवस्थामा रहेको छ । रनवे निर्माणका लागि मूल्यांकनको अवस्थामा रहेको क्यानले जनाएको छ । यसको स्तरोन्नतिका विषयमा छलफल भइरहेको छ ।
लुक्ला विमानस्थल : लुक्ला विमानस्थल स्तरोन्नतिका क्रममा त्यहाँ हेलिकप्टर राख्ने ठाउँ बनाइन लागिएको छ । विमानस्थलमा ६ वटासम्म हेलिकप्टर अट्ने छ । हेलिकप्टरका लागि छुट्टै टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थलमा ५२७ मिटर रनवे बनाइने छ ।

जोमसोम विमानस्थल : जोमसोम विमानस्थलमा ८१५ मिटरको रनवे कालोपत्रे गर्ने काम पूरा भएको छ । जोमसोमका लागि एटीआर–४२ विमान सञ्चालन गर्ने योजना बनाइएको छ । अबको साढे २ वर्षमा जोमसोमको रनवेलाई ३०० मिटर थप गरिने योजना रहेको छ । यसका लागि अध्ययन भइरहेको क्यानले जनाएको छ ।
रामेछाप विमानस्थल : रामेछाप विमानस्थलमा हाल ५३० मिटर लामो रनवे रहेको छ । मास्टर प्लान अनुसार यसलाई विस्तार गरेर १ हजार मिटरमा स्तरोन्नति गरिने छ । रनवेको स्तरोन्नति पछि यस विमानस्थलमा एटीआर ४२ ६०० विमान समेत सञ्चालन गर्न सकिने छ ।
विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्नुका साथै कन्ट्रोल टावर निर्माण गरिने योजना रहेको छ । विमानस्थर स्तरोन्नतिका लागि २१ बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने भएको छ । यस विमानस्थलको स्तरोन्नतिका लागि ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
जुम्ला विमानस्थल : जुम्ला विमानस्थलमा रनवे कालोपत्रको काम पूरा गरिसकिएको छ । विमानस्थलको रनवेलाई आगामी समयमा १ हजार १०० मिटरमा स्तरोन्नति गरिने छ । विमानस्थललाई एटीआर४२ ६०० विमान धान्न सक्ने गरी स्तरोन्नति गरिँदै छ ।
सिमीकोट विमानस्थल : सिमीकोट विमानस्थलमा टर्मिन भवन निर्माणको काम सम्पन्न भएको छ । धावनमार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलमा ३ डीएचसी–६ जस्ता विमानहरु पार्क गर्न सक्ने गरी पार्किङ स्थल निर्माण गरिने भएको छ । यसका लागि कुल २० करोड लागत अनुमान गरिएको छ ।
रारा विमानस्थल : यस विमानस्थलमा टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण गरिदै छ । रनवे विस्तारका लागि भने सम्भावना नभएकाले त्यसमा केही भएको छैन । यसमा हाल बन्ने भौतिक निर्माणका लागि १४ करोड लागत अनुमान गरिएको छ ।
ताप्लेजुङ विमानस्थल : ताप्लेजुङ विमानस्थलमा हाल ७०० मिटरको रनवे रहेको छ । यसलाई ८५० मिटरमा स्तरोन्नति गर्न लागिएको हो । यसका लागि ८ करोड लागत अनुमान गरिएको छ । रनवे स्तरोन्नति पछि यस विमानस्थलमा एटीआर ४२ जस्ता विमानहरु सञ्चालन गर्न सकिने छ ।
यसका साथै सन्फेबगर विमानस्थल, लामिडाँडा विमानस्थल, खिजि–चन्द्रेस्वरी विमानस्थल, इलाम विमानस्थल, गुल्मी विमानस्थल, बैतडी विमानस्थल, बजाङ विमानस्थल, रुम्जाटार विमानस्थल, डोटी विमानस्थल, फाप्लु विमानस्थल, डोल्पा विमानस्थल, खानीडाँडा विमानस्थल, थमखर्क विमानस्थल, कालिकोट विमानस्थल, महेन्द्रनगर विमानस्थल लगायतका विमानस्थलहरु स्तरोन्नति हुने भएका हुन् ।