काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी (एनअनरएन) को सेयर मूल्य ओरालो लागेको छ ।
भदौ १० गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य दैनिक पोजेटिभ सर्किट (१० प्रतिशत) लाग्दै बढेको थियो । आज पनि बजार खुल्न साथ सेयरको भाउ बढेर प्रतिकित्ता ५९० रुपैयाँ पुगेको थियो ।
तर, १० दिनमै झन्डै दोब्बरले बढेको कम्पनीको भाउ आजदेखि भने ओरालो यात्रामा लागेको छ । सधै सर्किट हान्दै बढेको कम्पनीको सेयर आज नेगेटिभ सर्किट लागेर घटेको छ ।
कम्पनीको सेयर बेच्नेको ओइरो लागेको छ । कारोबार सुरु भएको १ घण्टा (१२ बजेसम्म) कम्पनीको ७५ हजारभन्दा सेयर विक्रीमा आएको छ भने खरिद कर्ता कोही पनि छैनन् अर्थात् १ कित्ता पनि खरिदका लागि अर्डर छैन ।आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँले घटेर ४८४ रुपैयाँमा आइपुगेको छ ।
तुलनात्मक रुपमा वित्तीय अवस्था बलियो नभए पनि पछिल्लो समय कम्पनीको सेयरप्रति लगानीकर्ता आकर्षित भएका थिए । ३०६ रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको सेयर १० दिनमै बढेर ५९० रुपैयाँसम्म पुगेको थियो ।
कम्पनीले साउन १६ गतेदेखि ३३ लाख ९८ हजार ४६० कित्ता आइपीओ निष्काशन गरेको थियो ।हाल कम्पनीको जारी चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.६ रुपैयाँ रहेको थियो भने प्रतिसेयर आम्दानी २।४ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।
कम्पनीले १४.३ मेगावटको माथिल्लो मैलुङ खोला हाइड्रोपावर, २८.१ मेगावाटको स्वीट गंगा हाइड्रोपावर, ७३ मेगावाटको मध्य तमोर हाइड्रोपावर, २७ मेगावाटको हिमालयन पावर पार्टनर लगायतका परियोजनामा लगानी गरेको छ ।