काठमाडौं । कोरोनाका कारण विश्वका अधिकांश देशको अर्थतन्त्र अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ ।कोरोना रोकथामका लागि अधिकांश देशले लामो समयसम्म लकडाउन लगाउँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्पप्रायः हुँदा त्यसको असर अर्थतन्त्रमा देखिएको हो ।
विश्वका विकासोउन्नमुखदेखि विकसित देश समेत प्रभावित भएका छन् । विश्वभरका ठूला उद्योगदेखि घरेलु तथा साना उद्योग, होटल लगायत पर्यटन क्षेत्र, सेवामूलक लगायत क्षेत्र ठप्प प्रायः हुँदा अर्थतन्त्रमा ठूलो गिरावट आएको हो ।
अहिले विश्वका अधिकांश देशको अर्थतन्त्र मन्दितर्फ जान लागेको संकेत देखिएको छ । विश्वका ठूला भनिएका देशहरुको अर्थतन्त्र लगातार ओरालो लागेका छन् । विश्वका ठूला अर्थतन्त्र भएका अमेरिका, जापान, वेलायत भारत लगायत देशको अर्थतन्त्र दोस्रो विश्वयुद्ध यताकै कमजोर अवस्थामा पुगेको छ ।
कोरोनाका बाबजूद पनि चीनले भने अर्थतन्त्र सुधार्न सफल भएको छ । यहाँ विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको हालको अर्थतन्त्रको बारेमा चर्चा गरिएको छ ।
अमेरिकी अर्थतन्त्र सन् १९४७ यताकै खराब अवस्थामा
विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको अमेरिकी अर्थतन्त्रमा कोरोनाका कारण ठूलो गिरावट आएको छ ।कोरोनाबाट विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाको आर्थिक दोस्रो विश्व युद्ध यताकै खराब अवस्थामा पुगेको छ ।
अप्रिलदेखि जुनसम्मको अवधि (दोस्रो त्रैमासिक)मा अमेरिकी अर्थतन्त्रमा गिरावट आई ९.५ प्रतिशत संकुचित भएको छ । यो गिरावटलाई सरकारी अधिकारीले अपेक्षा गरिएभन्दा सामान्यत कम खराब भएपनि सन् १९४७ पछि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो ।

अन्तर्राष्ट्रिय व्यापारमा आएको गिरावट, कुल गार्हस्थ उत्पादनमा आएको ह्रास, बढ्दो बेरोजगारी, उपभोक्ताको खर्च गर्ने क्षमता कमजोर हुनु लगायत कारणले अमेरिकी अर्थतन्त्र खराब अवस्थामा पुगेको त्यहाँका अधिकारीहरुले बताएको छन् ।
कोरोनाका बाबजूद चीनको अर्थतन्त्र सकारात्मक
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले कोरोनाका बाबजूद अर्थतन्त्रमा सुधार गरेको छ । विश्वका ठूला भनिएका सबै देशको अर्थतन्त्र ओरालो लागिरहेका बेलामा पनि चीनले भने आफूलाई बलियो देखाएको छ ।
चीनको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार दोस्रो त्रैमासिकमा अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि भएको छ।यो वर्षको पहिलो त्रैमासिकमा ठूलो मन्दीपछि चीनमा आर्थिक मन्दी आउने अनुमान गरिएको थियो । तर दोस्रो त्रैमासमा अर्थतन्त्रले कमब्याक गरेपछि यस वर्ष मन्दी टर्ने संकेत देखिएको छ ।
कोरोना भाइरस लकडाउनका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को पहिलो तीन महिनामा ६=८ प्रतिशतले ओरालो लागेको थियो।

चीनको कुल गार्हस्थ उत्पादन जीडीपी एप्रिलदेखि जुनमा बढेको देखिएको छ।चीनले आफ्नो अर्थतन्त्र पुनः चालू गरेको अवस्थामा संसारले नै चीनको यो सङ्ख्यालाई कुरिरहेको थियो।यो अङ्क विज्ञहरूले अनुमान गरेभन्दा बढी हो र यसले अर्थतन्त्र ह्वात्तै उकालो लाग्न थालेको सङ्केत गरेको छ।
यसको अर्थ चीन प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको छ किनभने त्यसका लागि लगातार दुई त्रैमासिकमा अर्थतन्त्र ओरालो लाग्नुपर्छ। चीनले अनपेक्षित रूपमा लकडाउनपछि अर्थतन्त्रमा सुधार गरेको हो।जर्मन बैंकको एक अध्ययनमा चीनको अर्थतन्त्रको पुनरुत्थान लगभग पूरा भएको उल्लेख गरिएको छ।
गएको मेमा कोरोनाभाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने बताएको थियो।सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक हो।राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार यो वर्षको पहिलो छ महिनामा चीनको अर्थतन्त्र १।६ प्रतिशतले खस्किएको छ।
जापानको अर्थतन्त्र लगातार नकारात्मक
विश्वकै तेस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको जापानको अर्थतन्त्र चालू आवको दुवै त्रैमासमा नकारात्मक भएको छ । पहिलो त्रैमास (अप्रिल–जुन) मा २७.८ प्रतिशतले संकुचित भएको जापानको अर्थतन्त्र दोस्रो त्रैमासमा ७.८ प्रतिशतले गिरावट आएको छ ।
कोरोनाका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ । जापानी संचार माध्यमहरुले जापानी अर्थतन्त्रमा आएको उक्त गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको बताएका छन् ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थव्यवस्थामा कोरोना भाइरसको प्रभाव देखिनुअघि गत वर्षको अन्त्यदेखि नै अनुभव गर्न थालिएको थियो । कोभिड९१९ बाट संक्रमितको संख्यासँगै सामाजिक दूरीका नियमहरुले पनि अर्थतन्त्रमा नकारात्मक असर परेको जापानी अधिकारीहरुले बताएका छन् ।
विज्ञहरुका भनाइमा कोरोनाभाइरस नियन्त्रणमा आएसँगै अर्थतन्त्रमा विस्तारै सुधार हुनेछ । जापानको निर्यातमुखी अर्थव्यवस्था चीनको आर्थिक वृद्धिसँग पनि जोडिएको छ । चीनले कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी कदम चाले पनि चिनियाँ उत्पादनको बजार माग खस्किएको अध्ययनहरुले देखाएका छन् ।
भारतीय अर्थतन्त्र ४ दशक यताकै कमजोर
विश्वको पाँचौ ठूलो अर्थतन्त्रको रुपमा रहेको भारतीय अर्थतन्त्र कोरोनाका कारण ४ दशक यताकै कमजोर अवस्थामा पुगेको छ । चालू वर्षको दोस्रो त्रैमासमा २३.९ प्रतिशतको गिरावट आएको छ ।
कोरोना भाइरस नियन्त्रणको लागि लागू गरिएको लकडाउन र त्यस सम्बद्ध नियन्त्रणको कारण अर्थतन्त्रमा व्यापक गिरावट आएको हो ।विश्वका ठूलो अर्थतन्त्रहरु मध्ये भारतीय अर्थतन्त्रको यो गिरावट सबैभन्दा ठूलो र व्यापक हो ।
भारत सरकारले सार्वजनिक गरेको तथ्याङकले यो अवधिमा निर्माण, उत्पादन र यातायात क्षेत्रमा धेरै प्रभाव परेको उल्लेख गरिएको छ । सन् १९९६, जबदेखि भारतमा कुल ग्राहस्थ उत्पादनको मापन गर्न थालियो, पछिको यो सबैभन्दा ठूलो आर्थिक गिरावट भएको बताइएको छ ।
भारतका धेरै कामदारहरु अनौपचारिक क्षेत्रमा काम गर्ने भएका कारण पनि भारतको आर्थिक अवस्थाको तस्वीर केही जटिल छ । यस्ता क्षेत्रहरुमा सरकारको पहुँच छैन । रिक्सा चालक, टेलर, दैनिक ज्यालादारी मजदूर लगायतले आफ्नो रोजगारी यो समयमा गुमाएका छन् । यदि यस्तो अनौपचारिक क्षेत्रको हेक्का राख्ने हो भने भारतीय अर्थतन्त्रको गिरावट अझ सघन र व्यापक हुने अर्थशास्त्रीहरु औल्याउँछन् ।
१।३ अर्ब जनसंख्या रहेको भारत केही वर्ष अघिसम्म विश्वको तीव्र गतिमा वृद्धि भइरहेको ठूलो अर्थतन्त्र मध्येको एक थियो । उक्त समयमा भारतको वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत वा सोभन्दा बढी थियो ।
तर, अहिलेको महामारीभन्दा अघिदेखि नै भारतीय अर्थतन्त्र सुस्ताउन थालिसकेको थियो । उदाहरणको लागि गत वर्षको अगस्ट महिनामा भारतमा कारको विक्री ३२ प्रतिशतले घटेको थियो ।
औद्योगिक उत्पादनमा गिरावट आउँदा जर्मनीको अर्थतन्त्र ओरालो
युरोपकै सबैभन्दा ठूलो तथा विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जर्मनीको पनि अवस्था खराब हुँदै गएको छ । औद्योगिक उत्पादन ठूलो गिरावट आउँदा दोस्रो त्रैमासमा यसको अर्थतन्त्र १०।१ प्रतिशतले खुम्चिएको छ । पहिलो त्रैमासमा पनि २.२ प्रतिशतले गिरावट आएको थियो ।

कोरोनाका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्यांकमा उल्लेख छ । सवारी साधनको उत्पादनमा ७४।६ प्रतिशत घटेको भए पनि निर्माण क्षेत्रमा भने निकै सुधार भएको छ ।
विश्वभर कोरोनाका कारण ठूलो आर्थिक क्षति पुगेको छ तर जर्मनीले आफ्ना समकक्षी मुलुकको तुलनामा निकै प्रगति गरेको छ ।
वेलायतको अर्थतन्त्रमा लगातार दोहोरो अंकको गिरावट
विश्वको छैटौं ठूलो वेलायतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०।४ प्रतिशतले खुम्चिएको छ ।
बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो । पहिलो त्रैमासमा करिब १४ प्रतिशतले खुम्चिएको वेलायतको अर्थतन्त्र दोस्रो त्रैमासमा पनि दोहोरो अंकले खुम्चिएको हो । यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ ।
युरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ ।
फ्रान्स पनि ओरालै यात्रामा
विश्वको सातौं ठूलो फ्रान्सको अर्थतन्त्र पनि लगातार ओरालो लागेको छ । कोरोनाबाट अति प्रभावित बनेको फ्रान्सको अर्थतन्त्र चालू आवको दुवै त्रैमासमा ओरालो लागेको छ ।

करिब ३ महिनाभन्दा बढी समय लकडाउनको सामाना गरेको फ्रान्सको अर्थतन्त्र दोस्रो त्रैमासमा १३.८ प्रतिशतले गिरावट आएको छ । पहिलो त्रैमासमा पनि ५.९ प्रतिशतले खुम्चिएको थियो ।
कोरोनाका कारण औद्योगिक उत्पादन घट्दा, निर्यात व्यापारमा ठूलो गिरावट आउँदा, पर्यटकीय गतिविधि ठप्प हुँदा लगायत काराण्ले यहाँको अर्थतन्त्र ओरालो लागेको हो ।