काठमाडौं । विद्यार्थीहरुलाई लक्षित गर्दै नेपाल टेलिकमले ‘ह्याप्पी लर्निङ प्याक’ ल्याएको छ । कोरोना महामारीका कारण सृजित हालको विषम् परिस्थितिलाई मध्येनजर गर्दै टेलिकमले अनलाइन अध्ययनका लागि सस्तोमा डाटा प्रदान गर्ने भएको हो ।
सस्तोमा डाटा उपलब्ध गराउने बारे टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनका उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार मुलुकभरका विद्यार्थीले कम्पनीले उपलब्ध गराएको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्न सक्नेछन् । प्याकेजका प्रयोगकर्ताले ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् ।
यस्तै, २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स वा गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी र ५ जीबी डाटा बाँडिएको छ ।
दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । सो सम्झौता अनुसार नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयलाई अनुरोध सहितको जानकारी पठाउने छ ।
टेलिकमले विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकले पनि प्रयोग गर्न पाउने भएका हुन् ।