काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको सेयर बजारले आफ्नो यात्रा जारी राखेको छ । आइतबार करिब ५ अंकले बढेको बजारमा आज दोहोरो अंकले वृद्धि भएको छ ।
गतसाता करिब ५९ अंकले बढेको बजार यो साता पनि लगातार दोस्रो दिन उकालो लागेको छ । सूचकसँगै आज कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै अढाई गुणाले बढेर करिब साढे ३ अर्ब पुगेको छ । यो लकडाउन यताकै सर्वाधिक कारोबार हो ।
सेयर बजार मापक सूचक नेप्से २२.३१ अंकले बढेर १४८४.९९ बिन्दुमा आइपुगेको छ । यसदिन १८९ कम्पनीको ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२४ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये होटल समूह बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २६०.३३ अंकले बढेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २८ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
पछिल्लो २ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा नेको र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज ८ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल पुर्नबीमाको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्त, एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट लगायत ७ कम्पनीको करिब १० प्रतिशतले बढेको छ ।
आज हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । यसको सेयर मूल्य ७.२९ प्रतिशतले घटेको छ ।