विश्वको सबैभन्दा सफल लगानीकर्ता मानिने वारेन बफेट आइतबार ९० वर्ष पुगेका छन् । उनी अहिले कुल ८६ अर्ब डलर सम्पत्ति सहित विश्वको तेस्रो धनी व्यक्तिको रुपमा रहेका छन् ।
वर्कशायर हाथवे कम्पनीका अध्यक्ष एवं प्रमुख कार्यकारीको रुपमा रहेका बफेट सन् १९३० मा अमेरिकाको ओमाहामा जन्मेका थिए । बफेटले सन् १९४१ मा ११ वर्षको उमेरमा आफ्नो पहिलो सेयर किनेका थिए । उनले आफ्नो पहिलो ‘ट्याक्स रिर्टन’ १३ वर्षको उमेरमा दर्ता गराएका थिए । उनले हाइस्कुल सक्ने बित्तिकै ओमाहाको एक ४० एकर फार्मको सेयर किनेका थिए ।
अहिले वर्कशायर विश्वको चोथौ ठूलो कम्पनी हो । फोब्र्सका अनुसार उक्त कम्पनीको कुल सम्पत्ति झण्डै ८२० अर्ब डलर रहेको छ । यी पाका लगानीकर्ताले धेरैले सपना देख्ने गरेको जस्तो सफलता सेयर बजारबाट बटुलेका छन् ।
उनको लगानीकर्तालाई सबैभन्दा चर्चित सुझाव छ । नियम नं १ : पैसा कहिलै नगुमाउनुहोस् । नियम नं २ : नियम नं १ कहिलै नभुल्नुहोस् ।
यहाँ सेयर लगानीकर्तालाई उनका महत्वपूर्ण ५ सुझाव प्रस्तुत गरिएको छ ।
१. आफूले नबुझ्ने व्यवसायमा लगानी नगर्नुहोस्
बफेटको सबैभन्दा महत्वपूर्ण सल्लाह भनेको लगानीकर्ताले आफूले नबुझ्ने व्यवसायमा कहिलै लगानी गर्नुहुँदैन भन्ने हो । बफेटले जहिल्यै आफूलाई विश्वास भएको सेक्टरमा मात्र लगानी गरे । अर्थतन्त्र जटिल भएको समयमा आफूलाई जे थाहा छ, त्यसमा मात्र केन्द्रित हुन उनको सुझाव छ । लगानीकर्ता जहिल्यै पनि तार्किक हुनुपर्छ र आफूले लगानी गर्ने विषयमा धेरै अनुसन्धान गर्नुपर्छ भन्ने उनको मत छ । मानिसले घर किन्दा जति खोजीनिती गर्छन् सेयर किन्दा पनि त्यति नै अनुसन्धान गर्नुपर्छ भन्ने उनको बुझाइ छ ।
२. यदि तपाईं लगानी गरिरहनु भएको छैन भने तपाईं गलत गरिरहनु भएको छ
उनको विचारमा नगद हातमा लिएर बस्नु भनेको खराब लगानी हो । मानिसले धेरै तरलता हातमा लिनु हुँदैन । लगानीकताएले जहिल्यै पनि आफ्नो सम्पत्ति बाट धेरै नाफा कमाउने बाटो खोज्नुपर्छ ।
‘अहिले मानिसहरु तरलता हातमा राखेर बस्दा सहज महशुस गर्छन् । त्यस्तो सोच्नु हुँदैन । त्यो गर्दा उनीहरु मूल्यमा घटेर जाने तरलता हातमा लिएर बसिरहेका हुनेछन्’, बफेट भन्छन् ।
३. दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्
‘अहिले मानिसहरु छहारीमा बसिरहेका छन् किनभने कसैले धेरै पहिले त्यो रुख रोपेका थिए,’ बफेट भन्छन् । लगानीकर्ताले जहिल्यै पनि लगानी गर्दा दिर्घकालिन योजना बनाउनुपर्छ । बफेटको मन्त्रले भन्छ – ‘जहिल्यै त्यस्तो सेयर मात्र किन्नुस जुन सेयर बजार १० वर्ष बन्द हुँदा पनि तपाई खुशीखुशी पालेर राख्न सक्नुहुन्छ ।’
यसैगरी बफेट भन्छन्,‘कम्पनीको सेयर किन्दा कम्पनी दीर्घकालसम्म टिक्छ र राम्रो गर्छ वा गर्दैन भन्ने तर्फ सोच्नुहोस् । अहिले मात्र राम्रो गरेको छ भनेर पुग्दैन ।’
४. आफूमा लगानी गर्नुस्
बफेटले लगानीकर्तालाइ दिएको सबैभन्दा महत्वपूर्ण सुझाव भनेको ‘आफूमा लगानी गर्नुस’ भन्ने नै हो । बफेट भन्छन्, ‘तपार्इंले गर्नसक्ने सबैभन्दा राम्रो र ठूलो लगानी भनेको आफैंमा गर्ने लगानी हो । ’ उनी अहिले ९० वर्षको उमेरमा पनि सिक्नको लागि र आफ्नो व्यक्तित्व विकासको लागि समय खर्च गरिरहेका हुन्छन् ।
‘म अहिले पनि हरेक दिन धेरै समय त्यसै बसेर सोच्नको लागि समय खर्च गर्ने गर्छु । अमेरिकी व्यवसायीक क्षेत्रमा यो त्यति स्वभावीक होइन । म पढ्छु र सोच्छु । धेरै मानिसहरुले झैं म हठात् व्यवसायीक निर्णयहरु धेरै गर्दिन, त्यो भन्दा म धेरै पढ्छु र सोच्छु,’ उनी भन्छन् ।
५. क्रेडिट कार्डको ऋण
यो विषेशगरी युवापुस्ताको लागि हो । बफेट मानिसहरुलाई क्रेडिट कार्डको प्रयोग नगर्न सुझव दिइरहन्छन् । १८ प्रतिशत व्यामजमा पैसा लिएर चलाउनु धेरै जोखिमपूर्ण रहेको उनको बुझाइ छ ।
त्यति धेरै व्याजमा पैसा चलाएर मानिसहरुले आफ्नो आर्थिक अवस्था सुर्धान सक्दैन । मानिसले भविष्यमा राम्रो हुने काममा मात्र लगानी गर्नुपर्छ । ऋणको ब्याज भविष्यमा तिरेर बस्ने अवस्था आउन दिनुहुँदैन ।