काठमाडौं । नागरिक लगानी कोषको सेयर बजार मूल्यभन्दा कम मूल्यमा किन्ने आज अन्तिम दिन रहेको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिकको लिलामीमा ल्याएको ५० हजार कित्ता संस्थापक सेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले बोलकबोलबाट न्यूनतम प्रतिकित्ता मूल्य २३०० रुपैयाँमा उक्त सेयर लिलामीमा विक्री गर्न लागेको हो । आज कोषको दोस्रो बजारमा सेयर मूल्य २९३० रुपैयाँ रहेको छ ।
कोषको लिलामी सेयर भदौ ८ गतेदेखि खुलेको थियो । न्यूनतम १०० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीले बिक्रीमा ल्याएको यो सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन् भने सर्वसाधरणले पाउने छैनन् ।
नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्स कम्पनी नारायणचौर नक्सालबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ।
यो सेयर खरीद गर्ने आवेदकले नागारिक लगानी कोषले निष्काशन गर्न लागेको हकप्रद सेयरमा समेत आवेदन गर्न योग्य हुने कम्पनीले जनाएको छ ।