सेयर बजारलाई कोरोना फाप्दै, डेढ महिनामै प्रविधिले यसरी मार्‍यो फड्को

काठमाडौं । भनिन्छ कुनैपनि महामारीसँगै अवसर र विनास पनि सँगसँगै आउँछ । यसकै पछिल्लो उदाहरण हो नेपाली सेयर बजारमा प्रविधिको प्रयोग ।

 

लकडाउन अघि कुल सक्रिय लगानीकर्ताको ९९ प्रतिशतभन्दा बढीले ब्रोकर कार्यालयमा भौतिक उपस्थिति भएर सेयर कारोबार गर्ने गरेकोमा अहिले पूर्ण अनलाइन प्रणालीबाट कारोबार हुन् थालेको छ ।

 

प्रयोगमा आएको डेढ वर्षसम्म आकर्षण नदेखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाइन प्रणालीप्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।

 

कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, बेला बेलामा अनलाइन सिस्टममा समस्या आउनु, न्यूनतम २५% रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने लगायत कारणले नेप्सेको अनलाइन प्रयोगकर्ता बढ्न सकेका थिएनन् । तर, अहिले ब्रोकरमा गएर सेयर कारोबार गर्दा कारोना सर्ने जोखिम बढेपछि यसका प्रयोगकर्ता बढ्न थालेका हुन् ।

 

सरकारले कोरोना रोकथामका लागि लगाएको लकडाउन, निषेधाज्ञाका कारण ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाउने भएपछि लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित हुन थालेका हुन् ।

 

२०७५ मंसिर २० मा ठूलो तामझामका साथ नेप्सेले प्रयोगमा ल्याएको अनलाइन प्रणाली झन्झटिलो रहेको भन्दै लगानीकर्ता अकार्षित हुन सकेका थिएनन् । तर, ब्रोकर कार्यालयमा गएर कारोबार गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना भएपछि लगानीकर्ता यसप्रति आकर्षित हुन् थालेका हुन् ।

 

नेप्सेले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार भदौ ११ गतेसम्म कुल अनलाइन प्रयोगकर्ता (अनलाइन सेयर किनबेचका लागि युजर नेम र पासर्वड लिएका) को संख्या ६४ हजार ६१६ जना पुगेका छन् । यो कुल सक्रिय लगानीकर्ताको करिब २२ प्रतिशत हो भने कुल लगानीकर्ताको लगानीकर्ताको करिब ३ प्रतिशत हो ।

 

नेप्सेका अनुसार अहिले दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ८७ हजार ८५४ जना रहेका छन् । यस्तै सीडीएससीका अनुसार डिम्याट (हिताग्राही) खाता खोल्नेको संख्या करिब १८ लाख नाघेको छ ।

 

गत असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता डेढ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ ।  नयाँ आर्थि वर्ष सुरु भए (साउन) यता मात्रै ३१ हजार १८७ अनलाइन प्रयोगकर्ता थपिएका छन् । साउन लागे यता औसतमा दैनिक ७६० जना अनलाइन प्रयोगकर्ता थपिएको नेप्सेले जनाएको छ। गत मंसिरसम्ममा यस्तो संख्या जम्मा करिब १५ हजार हाराहारी मात्र थिए ।

 

कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, बेला बेलामा अनलाइन सिस्टममा समस्या आउनु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने लगायत कारणले नेप्सेको अनलाइन प्रयोगकर्ता बढ्न सकेका थिएनन् । तर, अहिले ब्रोकरमा गएर सेयर कारोबार गर्दा कोरोना सर्ने जोखिम बढ्नुका साथैब्रोकरको स्क्रीन रुम समेत बन्द रहेकाले अनलाइन प्रयोगकर्ता बढ्न थालेका हुन् ।

 

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

 

यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो ।

 

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् । यसरी सेयर कारोबारको पैसा समेत लिन/दिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ ।

 

कोरोनाका कारण ब्रोकर कार्यालयमै आएर कारोबार गर्दा संक्रमणको जोखिम बढ्ने र ब्रोकरको स्क्रीन रुमसमेत बन्द भएकाले अनलाइनको युजर आइडी र पासवर्ड लिनेको संख्या ह्वात्तै बढेको ब्रोकरहरु बताउँछन् ।

 

‘विगतमा अनलाइनमार्फत भन्दा ब्रोकरमै आएर कारोबार गर्न रुचाउने लगानीकर्ता समेत अहिले अनलाइनबाटै कारोकार गर्न थालेका छन,’ एक ब्रोकरका सञ्चालकले भने, ‘साउन यता अनलाइन कारोबारकर्ता ह्वात्तै बढेका छन्, पछिल्लो समय नेप्सेले अनलाइनबाटै आवेदन दिएर युजरआडी लिन सकिने व्यवस्था गर्दिएसँगै त झन यसका प्रयोकर्ता दैनि दोब्बर बढ्न थालेका छन् ।’

 

पछिल्लो समय सेयर बजारले क्रमशः गति लिन थालेपछि पनि लगानीकर्ता अनलाइनप्रति आकर्षित हुन् थालेका बताइएको छ । ‘बजार बढेको बेलामा सेयर किन बेचका लागि ब्रोकर कार्यालयमा भीड हुने र फोन गर्दा समेत समयमै रेस्पोन्स नहुँदा भाउ बढेको बेला सेयर बेच्न सकिँदैन,’ एक लगानीकर्ताले भने, ‘नेप्सेको अनलाइन छिटो, छरितो छैन भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो सहजताका लागि अनलाइन प्रयोग गर्न थालेको हुँ ।’

 

पछिल्लो समय कोरोनाले गर्दा अधिकांश क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको परिप्रेक्ष्यमा सेयर बजारमा पनि यसको प्रयोकर्ता बढ्न थालेका हुन् । अनलाइन मार्फत आफैले चाहेको बेलामा सजिलै सेयर किनबेच गर्न सकिने भएकाले लगानीकर्ता यसको प्रयोग गर्न थालेका हुन् ।

 

पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेपनि प्रयोगकर्ताले भने यसको सेवाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा प्रायः आइरहने अनेकौं समस्याले आफूहरुलाई हैरानी बनाएको प्रयोगकर्ताको गुनासो छ ।

 

अझै २९ ब्रोकरमा १ हजारभन्दा कम अनलाइन प्रयोगकर्ता

 

सेयर कारोबार गर्ने ५० ब्रोकरमध्ये अझै २९ वटा ब्रोकरमा अनलाइन प्रयोगकर्ताको सङ्ख्या १ हजारभन्दा कम रहेको छ । हालसम्म २१ वटा ब्रोकरमा मात्र १ हजारभन्दा बढी लगानीकर्ताले अनलाइनबाट कारोबार गर्ने गरेका छन् ।

 

अहिले एउटा मात्रै ब्रोकरमा ५ हजारभन्दा बढी अनलाइन प्रयोगकर्ता रहेका छन् । त्यस्तै, २ ब्रोकरमा ४ हजारभन्दा बढी, ५ ब्रोकरमा २ हजारभन्दा बढी, १५ ब्रोकरमा १ हजारभन्दा बढी र ९ वटा ब्रोकरमा ५००भन्दा कम अनलाइन प्रयोगकर्ता रहेका छन् ।

 

नेप्सेका अनुसार सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता ब्रोकर नं ५८ नासा सेक्यूरिटीजमा रहेका छन्। सो ब्रोकरबाट कारोबार गर्ने कुल ९ हजार ९१३ सक्रिय लगानीकर्तामध्ये आधाभन्दा बढी अर्थात् ५ हजार २७६ लगानीकर्ताहरुले अनलाइन प्रणाली प्रयोग गरिरहेका छन्।

 

यस्तै, ब्रोकर नं. १८ सगरमाथा सेक्यूरिटीजमा अनलाइन प्रणाली प्रयोग गर्ने लगानीकर्ता सबैभन्दा कम छन्। सो ब्रोकरबाट कारोबार गर्ने करिब २ हजार ८५० सक्रिय लगानीकर्ताहरुमध्ये ११८ जनाले मात्र अनलाइन प्रणालीबाट सेयर कारोबार गर्ने गरेका छन् ।

देशको कुल जीडीपीमा बागमती प्रदेशको मात्रै ३६ प्रतिशत योगदान, कुन प्रदेशको कति Read Previous

देशको कुल जीडीपीमा बागमती प्रदेशको मात्रै ३६ प्रतिशत योगदान, कुन प्रदेशको कति

किसानलाई कोरोनाको भन्दा धान फलाउन मल नपाइएला भन्ने चिन्ता Read Next

किसानलाई कोरोनाको भन्दा धान फलाउन मल नपाइएला भन्ने चिन्ता