नेपाल-भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की पुल निर्माण सम्झौताको ४ महिना अगावै सकिएको हो ।
पुलसँगै डेढ किलोमिटरको एशियन हाइवेको एप्रोच सडकसमेत निर्माण गरिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख ई. श्यामकुमार यादवले बताए।
उनका अनुसार सो पुल भारतको दिनेश चन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी सन् २०१८ को फेबु्रअरीदेखि निर्माणको काम प्रारम्भ गरेको थियो ।
विश्व कोरोना महामारीले शुरुमा पुल निर्माणमा असर पारे पनि तत्काल भारत सरकारले ठूला र महत्वपूर्ण योजना सञ्चालन गर्ने नीति लिएसँगै सो पुल निर्माणको काम पनि अघि बढाइएको थियो ।
एशियाली विकास बैंक (एडीबी) को भारतीय १ अर्ब ३ करोड ७८ लाखको लागतमा निर्माण भएको पुलले अन्तर्राष्ट्रिय व्यापारमा ठूलो सहयोग पुग्ने मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए।
एडीबीको आर्थिक सहयोगमा भारत सरकारले निर्माण गरिदिएको पुलको लम्बाई ७९० र चौडाई २४.२ मिटरको रहेको छ । सो पुल भारतको राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगमले अनुगमन गरेपछि मात्र हस्तान्तरणसहित उद्घाटन हुने प्रमुख ई। यादवको भनाइ छ ।रासस