किसानलाई अलैँची टिप्ने चटारो, उत्पादन दोब्बर बढे पनि भाउ घट्दा निराश

इलाम । बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो ।

 

मौसम नबिग्रिएको (पानी नपरेका)ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैँचीमा उल्लेखीय फल देखिएको छ ।

 

रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउँछन् । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो । ‘भार्लाङ जातको अलैँची राम्रो फलेको छ,’ आचार्यको भनाइ छ ।

 

विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । ‘टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ । उत्पादन बढेको छ,’ आचार्यले भने। गत वर्ष ५ मन ( १ मनमा ४० किलो) भएकामा यस वर्ष १० मन अलैँची हुने उनको अनुमान छ ।

 

उत्पादन बढे पनि अलैँचीको भाउ नआएकाले किसान निराश छन् । खेती प्रविधिमा सुधार गरेर किसानले अलैँचीको उत्पादन बढाए पनि विगतका वर्षमा भन्दा यस वर्ष भाउ खुम्चिएको छ ।

 

कोरोनाले समस्यामा पारेकाले अलैँचीको प्रतिमन ३० हजार रुपैयाँ पुग्न सकेको छैन । खेतबारीको अधिकांश भागमा अलैँचीखेती नै लगाएकाले बजार मूल्यमा नै बेच्न बाध्य हुनुपरेको माइजोगमाई–१ नयाँबजारका किसान धर्म भट्टराई बताउँछन् । अलैँचीको तालिमपछि आफूले खेतीमा सुधार ल्याए पनि कम मूल्यमा अलैँची तौलिनुपरेको भट्टराईको दुखेसो छ ।

 

भट्टराईको यस वर्ष मात्रै १५ मन अलैँची उत्पादन हुने अनुमान छ । तर भाउ २० हजारकै अुनपातमा भएकाले आम्दानी धेरै नहुने उहाँ बताउँछन् । विगतका वर्षमा अलैँची कम उत्पादन हुँदा अलैँचीको भाउ प्रतिमन १ लाखसम्म पुगेको थियो तर अहिले भाउ घटे पनि किसानले अलैँची खेती गर्न छाडेका छैनन् ।

 

किसानको उल्लेखीय आम्दानी दिने बालीमा पर्ने अलैँचीमा अन्य खेतीको तुलनामा लागत कम पर्छ । त्यसैले वर्षेनी भाउ घटे पनि अलैँचीको उत्पादनमा गिरावट नआउने गरेको रोङ गाउँपालिकाका किसान कुमार मोक्तान बताउँछन् । गएका वर्षमा ५ मन हाराहारीमा अलैँची उत्पादन गरेका मोक्तानको यस वर्ष आठ मन हुने अनुमान छ ।

 

दशकअघि पनि अहिलेजस्तै अलैँची उत्पादन हुन्थ्यो तर बीचका केही वर्ष मासिएपछि सशङ्कित हुँदै किसानले अरू खेतीमा प्राथमिकता दिएका थिए । अहिले भने फेरि किसान अलैँचीमै लागेका छन् । विभिन्न सङ्घसंस्था र स्थानीय सरकारले अलैँचीमा प्रविधि र तालिम ल्याएपछि किसान अलैँचीमा लागेका अलैँची व्यवसायी सङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउँछन् ।

 

सीमामा सकस

 

कोरोनाले नेपालका सीमावर्ती क्षेत्रमा सिल भएपछि अलैँची निर्यातमा समस्या छ । पूर्वी क्षेत्रको मुख्य भन्सार मेची भन्सार काँकडभिट्टा क्षेत्रमा सिल भएकाले अलैँची निर्यातमा सकस परेको व्यवसायीको भनाइ छ ।

 

महामारीले भारतीय बजार छिटपुट मात्रै खुला छन् । सदाजस्तो खुला नभएकाले थोरै परिमाणमा मात्र अलैँची निर्यात भइरहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरेले बताए ।

 

नेपालबाट जाने अलैँची भारत भएर नै तेस्रो मुलुक जान्छ । केही समयअघि भारतले अघोषित नाकाबन्दी गरेकाले १४ दिनसम्म अलैँचीलगायत कृषिजन्य पदार्थ नेपालतर्फ थन्कियो । यस्ता समस्या वर्षैपिच्छे आउँदा ठूलो रकम चुना लाग्ने गरेको व्यवसायीको भनाइ छ ।

 

व्यवसायी घिमिरेका अनुसार भारतले नेपाली अलैँचीको गुणस्तर घटाउन अनेक तिकडम लाउने गरेको छ । नेपाल सरकारको पहल उचित नहुँदा नेपाली अलैँचीको गुणस्तर विश्व बजारमा पुर्याउन नसकिएको उनको भनाइ छ ।

 

नेपाली अलैँचीको गुणस्तर अन्य ठाउँको भन्दा राम्रो हुँदा पनि कम मूल्यमा बेच्नुपरेकाले राष्ट्रलाई आम्दानीमा घाटा परेको घिमिरेको भनाइ छ । आव २०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलो अलैँची नेपालबाट निकासी भएको वैदेशिक रोजगार तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ ।रासस

नेपालमा कोरोनाको खोप परीक्षणमा सहभागी हुनेलाई क्षतिपूर्ति र बीमाको व्यवस्था हुन्छ ? यस्ता छन् जान्नै पर्ने ३ कुरा Read Previous

नेपालमा कोरोनाको खोप परीक्षणमा सहभागी हुनेलाई क्षतिपूर्ति र बीमाको व्यवस्था हुन्छ ? यस्ता छन् जान्नै पर्ने ३ कुरा

फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति Read Next

फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति