विश्वकै लामो झोलुंगे पुल हेर्न सिक्री बेचेर १०० किलोमिटर यात्रा !

फाइल तस्वीर

बागलुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पूरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए बागलुङको निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर ।

 

तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका ८ जनामध्ये ४ जना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्क विहिन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दियो । हराएको भनिएको ५ दिन पछि बागलुङ बजारबाट ती किशोर किशोरी फेला परे ।

 

यद्यपी, उनीहरु हराएको नभई विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्नका लागि बागलुङ आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठमध्ये चार जना बागलुङका लागि निसीखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए ।

 

बुर्तिवाङको सून पसलमा सोही दिन तीन किशोरीमध्ये दुई किशोरीले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाइ छ । ‘घाटीमा लगाएको दुइ वटा सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो,’ रेग्मीले भने ‘बागलुङ बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरुले लामो पुल अवलोकनसमेत गरेका रहेछन् ।’

 

कालिका मन्दिरसमेत घुम्न गएका उनीहरुलाई प्रहरीले फर्काएको थियो । पैसा र बासको अभावमा घर फर्कन नसकेका उनीहरुलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेला पारेको थियो ।

 

बागलुङ बजारमा निषेधाज्ञा भएका कारण घर फर्कन समस्या भएका कारण परिवारको सम्र्पकमा नआएको हुन सक्ने परिवारका सदस्य बताउँछन् । घरबाट घुम्न भनेर निस्केका चारै जना सम्र्पक बिहिन भएपछि चिन्तामा रहेको र घुम्ने क्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालीका बुबा कोकबहादुर बिकले बताए।

 

‘हामी त तनावमा थियौं, कसैले अपहरण, केही गर्यो कि भनेर डराएका पनि थियौं,’ बिकले भने, ‘रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० लगेर निस्केका रहेछन् ।’ सिर्पालीका बुबाका अनुसार बागलुङ बजारमा प्रहरीले फेला पारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ ।

 

उनीहरुले दुई वटा चाँदीको सिक्री बुर्तिवाङ बजारमा ३ हजारमा बिक्री गरी ट्याक्सी चढेर लामो पुल हेर्न बागलुङ बजार १० किमी पैदल र ९० किलोमिटर सवारी यात्रा गरी बागलुङ बजार आएका थिए ।

 

सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरुले जानकारी पाए पछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए ।रासस

बजार मूल्य १२९ रुपैयाँ रहेको कम्पनीको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Previous

बजार मूल्य १२९ रुपैयाँ रहेको कम्पनीको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

नेपालमा कोरोनाको खोप परीक्षणमा सहभागी हुनेलाई क्षतिपूर्ति र बीमाको व्यवस्था हुन्छ ? यस्ता छन् जान्नै पर्ने ३ कुरा Read Next

नेपालमा कोरोनाको खोप परीक्षणमा सहभागी हुनेलाई क्षतिपूर्ति र बीमाको व्यवस्था हुन्छ ? यस्ता छन् जान्नै पर्ने ३ कुरा