१ महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, १० एयरलाइन्सलाई उडान अनुमति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १६ (सेप्टेम्बर १ देखि ३० सम्म) हुने १ महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुरुप एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान हुने भएका छन् ।

 

मन्त्रालयका अनुसार नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरी १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

 

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ ।

 

अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ । यो एक महिनाको अवधिमा १० विदेशी र दुई नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्नेछन् ।

 

सरकारले सहजै रुपमा कोरोना परिक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तर्राष्ट्रिय उडान हुनेछ ।

 

मन्त्रालयले मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई कोभिड–१९ को माहामारी कायमै भएकाबेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको छ ।

 

त्यसैगरी मन्त्रालयले कोभिड–१९ को परीक्षण सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ ।

 

चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर र सलाम एयरले चार्टर उडान गर्ने छन् ।

 

त्यसैगरी नियमित तथा चार्टर उडानबाट नेपालमा भएका सबै दूतावासका कर्मचारी, संयुक्त राष्ट्र संघका १८ वटा एजेन्सी र नेपालमा काम गरिरहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई पनि आउन दिने मन्त्रालयले जनाएको छ ।

 

नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् । चैत ११ देखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरिएको थियो ।

 

पीसीआर रिपोर्ट नेगेटिभ भएका क्वारेन्टिनमा बस्नुनपर्ने

 

विदेशबाट पिसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ लिएर आउनेहरुले नेपालमा होटल क्वारेन्टिनमा बस्नुनपर्ने भएको छ । विदेशबाट आउने यात्रुले पीसीआर रिपोर्ट नेगेटिभ रहेमा उनीहरु सीधै विमानस्थलबाट होम क्वारेन्टिनमा जानुपर्नेछ ।

 

सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले नेपाल आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्रालयले जनाएको छ ।

 

पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाए भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइने जनाइएको छ ।

 

पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने छ । मन्त्रालयका अनुसार ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने प्याकेज बनाएको छ । सम्बन्धित मुलुकबाट आउने यात्रुले नेपाल आउनुपूर्वनै होटल बुकिङ गर्नुपर्नेछ ।

 

होटलहरु पर्यटकस्तर, बुटिक होटल र महङ्गा तारे होटल तय गरिएको छ । पर्यटनमन्त्रीले विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकलाई भने सरकारी खर्चमा उद्धार गरिनेछ ।

काठमाडौंमा ३०१ सहित थप ८८५ जनामा कोरोना पुष्टि, ३८५ डिस्चार्ज, ११ जनाको मृत्यु Read Previous

काठमाडौंमा ३०१ सहित थप ८८५ जनामा कोरोना पुष्टि, ३८५ डिस्चार्ज, ११ जनाको मृत्यु

बजार मूल्य १२९ रुपैयाँ रहेको कम्पनीको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Next

बजार मूल्य १२९ रुपैयाँ रहेको कम्पनीको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन