एनएमबीले ल्यायो उत्कृष्ट ५० वटा कम्पनीमा मात्रै लगानी गर्ने म्युचुअल फण्ड

काठमाडौं। एनएमबी क्यापिटलले फरक अवधारणा सहित आफ्नो तेस्रो सामूहिक लगानी कोष ‘एनएमबी ५०’ म्युचुअल फण्ड बजारमा ल्याएको छ ।

 

क्यापिटलले नेपालमै पहिलो पटक यस्तो फण्ड ल्याएको हो। यस म्युचुअल फण्डले दोस्रो बजारमा सबैभन्दा राम्रो प्रतिफल दिन सक्ने ५० वटा कम्पनीमा मात्रै लगानी गर्ने क्यापिटलले जनाएको छ ।

 

 

क्यापिटलले भोलि (सोमबार) देखि १ अर्ब २० करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाइ बिक्री गर्न लागेको हो । जसमध्ये  १ करोड ८० लाख इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी  १० करोड बीस लाख इकाई  सर्वसाधरण लगानीकर्ताको लागि छुट्याएको छ ।

 

 

दोस्रो बजार लगातार घट्दा अधिकांश म्युचुअल फण्ड नोक्सानमा रहेको समयमा क्यापिटलले हरेक वर्ष प्रतिफल दिन सक्ने सुचिश्चितताका साथ यो फण्ड ल्याएको  क्यापिटलले जनाएको छ ।

 

क्यापिटलका अनुसार उक्त योजनामा बिक्री गरिने इकाई साउन १६ गतेसम्म खरीद गर्न सकिनेछ । यदि सो अवधिमा बिक्री नभए आगामी भदौ १० गतेसम्म बिक्री गरिने जनाइएको छ ।

 

 

प्रतिइकाइ १० रुपैयाँ पर्ने उक्त योजनामा लगानीकर्ताले कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्नेछ । यो योजना ७ वर्षको रहेको छ ।

 

एनएमबी क्यापिटलले हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड सञ्चालन गरिरहेको छ।

हुँदा खानेको कोदो हुने खानेको रोजाइमा : उत्पादन कम, माग अत्यधिक Read Previous

हुँदा खानेको कोदो हुने खानेको रोजाइमा : उत्पादन कम, माग अत्यधिक

यती एयरलाइन्सले भित्र्यायो पाँचौ‌ं ‘एटिआर ७२–५००’ जहाज Read Next

यती एयरलाइन्सले भित्र्यायो पाँचौ‌ं ‘एटिआर ७२–५००’ जहाज