काठमाडौं । मेरो सेयरको सिस्टम प्रभावकारी रुपमा नचल्दा लगानीकर्ताले आइपीओ भर्न समस्या भएको छ ।
यो साता एकै पटक तीनवटा कम्पनीको साधारण सेयर आइपीओ विक्रीमा आएसँगै ओभर लोडका कारण ‘मेरो सेयर’मा समस्या देखिएपछि लगानीकर्ता हैरान भएका छन् ।
बुधबार लिवर्टी इनर्जी, बिहीबारदेखि समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स आइपीओ खलेको छ । एकैपटक तीन कम्पनीको आइपीओ खुलेको र सबैले एकैपटक तिनी कम्पनीमा आवेदन दिँदा सिस्टममा ट्राफिक भई सर्भरमा समस्या भएको सीडीएससीले जनाएको छ ।
यद्यपि अहिले पनि मेरोसेयर मार्फत आवेदन नै दिन नमिल्ने गरी समस्या नआएको सीडीएससीको भनाइ छ । सबै आइपीओमा आवेदन दिन मिल्ने तर, लोड धेरै हुँदा स्टिममा केही ढिलाइ भएको सीडीएससीले जनाएको छ ।
लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाका न्यून मात्रमा शाखाहरु खुल्दा बैंक मार्फत आवेदन दिन सक्ने अवस्था छैन । सबै आवेदकले अनलाइन मार्फत नै आवेदन गर्नुपरेका कारणले मेरो सेयरमा ओभरलोडका कारण सिस्टमले राम्रो काम नगरेको जनाइएको छ ।
बिहीबारदेखि मेरो सेयरमार्फत आइपीओ भर्न प्रयास गरेपनि अहिलेसम्म आवेदन दिन नसकिएको आवेदक कृष्ण घिमिरेले गुनासो गरे ।
‘अघिपछिका आइपीओ भर्दासामान्यतया ३ मिनेटमा काम सकिन्थ्यो,’ उनले भने, ‘तर, यसपट हिजोदेखि प्रयास गरिरहेको छु, अझै भर्न सकिएको छैन । राति १२ बजेसम्म कुरेर आवेदन दिन प्रयास गरेपनि सिस्टम नै खुलेन ।’ जतिबेला लगइन गर्दा पनि सिस्टम नै नखुल्ने र घुमिमात्र रहने उनको भनाइ छ ।
यता सीडीएससीले भने पहिलाकोभन्दा दोब्बर क्षमता बढाइए पनि अधिक चाप हुँदा केही ढिलाइ भएको जनाएको छ ।
‘यसअघि एकैपटकमा १६ हजार आवेदकले आवेदन परेको रेकर्ड थियो । तर यसपटक एकैपटक ५० हजार आवेदकले अप्लाइ गरे ,’ सीडीएससीका एक कर्मचारीले भने, ‘जसकारण लओभर लोड हुँदा सिस्टममा केही ढिलाइ देखिएको हो ।’ अबका दिनमा आवेदनका आधारमा क्षमता विस्तार गरी प्रणालीलाई चुस्त, छिटो, छरितो बनाइने सीडीएससीले जनाएको छ ।