रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त

काठमाडौं । पछिल्लो समय पूँजी बजारमा प्राथमिक साधरण सेयर (आइपीओ) जारी हुने क्रम ह्वात्तै बढेको छ ।

 

साधरण सभाबाट पारित भएका तथा धितोपत्र बोर्डले सर्वसाधरणमा सेयर जारी गर्न अनुमति दिएका विभिन्न कम्पनीहरुले धमाधम आइपीओ जारी गर्न थालेका हुन् ।

 

यसै आजदेखि एकैसाथ दुई कम्पनीले आइपीओ निष्काशन भएको छ । जसमा रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले करिब ६४ लाख कित्ता आइपीओ विक्री खुला गरेका छन् ।

 

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता

 

रिलायन्स लाइफले हाल कायम जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधरणमा जारी गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आइपीओ निष्काशन गरेको हो ।

 

निष्काशित गरिने कुल सेयरमध्ये ५ प्रतिशत (३ लाख १५ हजार) कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत (३ लाख १५ हजार) कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले यस आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा सम्पूर्ण सेयरका लागि आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

 

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

 

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

 

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। १ अर्ब ४७ करोड रूपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। आइपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ।

 

समाज लघुवित्तकोे ८६ हजार कित्ता

 

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आजदेखि नै प्रतिकित्ता १०० दरमै ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ विक्री खुला गरेको छ ।

 

यसमध्ये लघुवित्तले १ हजार कित्ता कर्मचारीका लागि र ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ८० हजार ७०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ।

 

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

सो अनुसार रिलायन्सको आइपीओ ५ लाख ६० हजार ७०० आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्दछ। तसर्थ ५ लाख ६० हजार ७०० जनाले भरे भने सबैले १० कित्ता पाउछन् भने सो भन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

हालसम्म खुलेका आइपीओमा करिब ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा अधिकतम २० कित्ताका लागि २ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

 

त्यस्तै, समाज लघुवित्तको आइपीओ ८ हजार ७० आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्दछ। हालसम्म खुलेका आइपीओमा करिब ५ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि गोलाप्रथाकै भर पर्नुपर्ने भएकले १० कित्ता लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

बजेट सहायतामा उल्लेख्य वृद्धि, १ वर्षमा आयो ८९ अर्ब सहायता Read Previous

बजेट सहायतामा उल्लेख्य वृद्धि, १ वर्षमा आयो ८९ अर्ब सहायता

एटीएममा प्रशस्त नगद राख्न राष्ट्र बैंकको निर्देशन Read Next

एटीएममा प्रशस्त नगद राख्न राष्ट्र बैंकको निर्देशन